रोल्पाबाट चन्दको सन्देशः ‘नीतिगत स्पष्टता बिना चुनावले देशको भलो हुँदैन’

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जेन–जी पुस्ताले उठाएका मुद्दाहरूको सम्बोधन हुनेमा गम्भीर आशंका व्यक्त गरेका छन्। रोल्पा जिल्लामा आयोजित राजनीतिक सभा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको औपचारिक तयारी भए पनि जनताको चाहनाअनुसार व्यवस्थापकीय सुधार हुने आधार नदेखिएको बताएका हुन्।
जेन–जी पुस्ताले उठाएका सवालको स्पष्ट जवाफ नदिई गरिएको निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने उनको भनाइ थियो। उनले वर्तमान राजनीतिक दलहरूको कार्यशैलीमा परिवर्तन नआएको आरोप लगाउँदै नेतृत्व तह जनताका आवाज सुन्ने अवस्थामा नरहेको टिप्पणी गरे। स्पष्ट बहुमतको सम्भावना कमजोर देखिएको र नीति दिशामा अन्यौल कायम रहेको अवस्थामा भएको निर्वाचनले अपेक्षित परिणाम नदिने उनको तर्क थियो। युवा पुस्ताको माग र मुलुकको अस्तव्यस्त राजनीतिबाट निकास दिन निर्वाचन प्रभावकारी हुनुपर्ने भए पनि त्यस्तो संकेत नदेखिएको उनले बताए।
लामो समयदेखि तत्कालीन माओवादी नेतृत्वको आलोचना गर्दै आएका चन्दले ‘जनयुद्ध’ अधुरो र असफल भएको कारण नै नयाँ पुस्तामा असन्तोष बढेको दाबी गरे। उनका अनुसार भ्रष्टाचारको वृद्धि र पारदर्शिताको अभावले जेन–जी विद्रोह जन्मिएको हो। प्रहरीभित्रको डार्फर काण्डदेखि पोखरा र भैरहवा विमानस्थल निर्माणसम्मका प्रकरणले राज्य संरचनामा व्यापक बेथिति देखिएको उनले उल्लेख गरे।
सबै सरकार भ्रष्टाचारमै केन्द्रित भएको आरोप लगाउँदै उनले दलहरूको असफलताकै परिणामस्वरूप युवापुस्तामा विद्रोही भावना बढेको विश्लेषण गरे।
निर्वाचन विशेष अभियानका क्रममा दाङ र प्युठान हुँदै रोल्पा पुगेका चन्दले सुलिचौर, लिबाङ, घर्तीगाउँ र जिनाबाङमा आयोजित कार्यक्रमहरूमा सम्बोधन गरेका थिए। सुरुमा आफैं उम्मेदवार बन्ने घोषणा गरेका उनले पछि रोल्पाबाट चुडामणि वलीलाई उम्मेदवार बनाएका छन्। आफ्नो दलले पहिलोपटक निर्वाचनमा सहभागिता जनाएको उल्लेख गर्दै उनले जनताको समर्थन पाए आत्मनिर्भर अर्थतन्त्र निर्माण, कृषि र फलफूल उत्पादन विस्तार तथा रोल्पाको जलजला र थबाङ क्षेत्रलाई जोडेर पर्यटन विकास गर्ने योजना अघि सार्ने बताए।












