दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहाईको माग गर्दै समर्थकहरुले मोटरसाइकल र्याली निकालेका छन्। माइतीघर मण्डलामा भेला भएका राजावादीहरुले भद्रकालीसम्म र्याली निकालेका हुन् ।
उनीहरुले ‘कार्की सरकार मुर्दावाद’, ‘दुर्गा प्रसाईलाई तत्काल रिहा गर’, ‘१२ बुँदे सम्झौता कार्यान्वयन गर’ लगायतका नारा लगाएका थिए । निर्वाचन बहिष्कार गर्दै आएका प्रसाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा गत सोमबार प्रहरीले भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।
प्रसाईका समर्थकहरुले आज मोटरसाइकल र्याली निकाले पनि कोणसभा भने गर्न पाएन । प्रहरी भीडलाई केही समयमै तितरबितर पारेको बताइएको छ । उनीहरुले संयोजक प्रसाईलाई रिहा नगरेको खण्डमा निरन्तर रुपमा आन्दोलनमा जाने समेत चेतावनी दिएको छ ।












