पुँजी बजारमा चमकः साढे २३ अर्बको कारोबार हुँदा लघुवित्तका लगानीकर्ता मालामाल, नयाँ रेकर्ड बनाउँला ?

काठमाडौँ । शेयर बजारले यो साता पनि हरियालीलाई निरन्तरता दिएको छ । गत साताको अन्तिम कारोबारमा उच्च अकंले बढेको बजार आइतबार पनि उच्च वृद्धि सहित बन्द भएको हो । हरियालीसँगै लगानीकर्ताहरूमा उत्साह बढिरहेको र बजारमा सकारात्मक लहर देखिएकछ ।
बजारमा निरन्तर उकालो लाग्दा कारोबार रकममा पनि वृद्धि भएको छ । हालको राजनीतिक वातावरण, शेयर बजारका लागि आवश्यक नीति र वित्तीय निकायहरूको सक्रियताले बजारमा दीर्घकालीन सकारात्मक संकेत देखाएको छ । यसले लगानीकर्ताहरूलाई सुरक्षित र रणनीतिक रूपमा लगानी गर्ने विश्वास दिलाएको छ ।
निर्वाचन नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई नजिकको मत प्राप्त गरेपछि राजनीतिक स्थिरताको अपेक्षा बढेको छ। लामो समयदेखि अस्थिर राजनीतिक परिस्थितिले पुँजी बजारमा अनिश्चितता ल्याएको भए पनि अब स्थायी सरकार गठन हुने सम्भावनाले प्रारम्भिक उत्साह जगाएको छ । दीर्घकालीन दृष्टिले पनि हालको स्थिति सकारात्मक देखिन्छ । नेपाल राष्ट्र बैंकले शेयर बजार प्रवद्र्धनका लागि लचिलो नीतिहरू लागू गरेको छ। ब्याजदर न्यून भएका कारण पूँजी बजारमा लगानीको वातावरण अनुकूल बनेको छ। धितोपत्र बोर्डले पनि बजारलाई नियमित र पारदर्शी बनाउन विभिन्न कदम उठाइरहेको छ।
आगामी पाँच वर्षे स्थायी सरकारको सम्भावनासँगै शेयर बजारमा दीर्घकालीन स्थिर वृद्धि हुने दाबी गरिएको छ । जेनजी आन्दोलनपछि भएको निर्वाचनमा बहुमत प्राप्त गरेको रास्वपाले अब काम गर्नु पर्ने अवस्था आएको छ । युवा वर्गको सक्रिय सहभागिताले पनि सरकारको जवाफदेहिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । लगानीकर्ताहरूले अहिले सोच–विचार गरेर उपयुक्त कम्पनीमा लगानी गर्ने अवसर पाएका छन्। रास्वपाको घोषणापत्रमा आर्थिक र लगानी प्रवद्र्धनमुखी नीति समावेश गरिएको छ। बैंकिङ क्षेत्रको लचिलो नीति, न्यून ब्याजदर र धितोपत्र बोर्डको सक्रिय गतिविधिले दीर्घकालीन वृद्धि सम्भव भएकोले लगानीकर्ताहरूमा सकारात्मक भावना बढेको छ। प्रारम्भिक उत्साहलाई दीर्घकालीन लगानी रणनीतिसँग जोड्दा बजारमा स्थिर वृद्धि सम्भावना देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५१ अकंले बढेर २९३१.५५ बिन्दुमा कायम भएको छ ।आज ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन माइक्रोफाइनान्स समूहको शेयर सर्वाधिक वृद्धि भएको छ । सो सेक्टरको शेयर मूल्य आज ४.२१ प्रतिशतले बढेको हो । साथै, बैंकिङ समूहको २.४९ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, फाइनान्स समूहको २.१३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.०५ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आइतबार १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको घटेको छ । ८ कम्पनीको भने स्थिर रहेको हो ।












