पुँजी बजारमा चमकः अर्थमन्त्रीको बोलिले लगानीकर्ताको लगानी फर्किंदै, यी कारण अझै देखिनेछ उछाल

काठमाडौं । शेयर बजारमा सुधारको लय फर्किएको छ । बजारमा निरन्तर हरियाली देखिन थालेको छ भने नेप्से सूचक उकालो लाग्ने क्रम जारी छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका संकेत दिएपछि लगानीकर्तामा उत्साह बढेको विश्लेषकहरूले बताएका छन् ।
यद्यपि, कारोबार रकम अपेक्षाअनुसार बढ्न नसकेकोले बजारले पूर्ण बलियो गति समात्न सकेको छैन । नेप्से २९००–३००० को स्तरतर्फ जाने र बृहत् सुधारका लागि भोल्युममा उल्लेख्य वृद्धि आवश्यक रहेको छ । तर, ठूला लगानीकर्ता अहिले सक्रिय देखिएका छैनन् । चैत मसान्तमा वित्तीय दबाबका कारण कारोबारमा केही रोकावट आएको छ । त्यसभन्दा केही अघि ठूला व्यवसायी र लगानीकर्तामाथि गरिएको कारबाही र केही शेयरमा रोक्का जस्ता कदमले बजारको भोल्युममा असर पु¥याएको विश्लेषकहरूले बताएका छन् । मसान्तपछि यस्तो दबाब हट्ने भएकाले कारोबार पुनः बढ्ने अपेक्षा गरिएको छ ।
लगानीकर्ताले अहिलेको समय शेयर खरिदको अवसरका रूपमा लिइरहेको देखिन्छ । स्थायी सरकार, सरल नियामक नीति, बैंकको ब्याजदरमा कमी र अर्थमन्त्रीको सकारात्मक दृष्टिकोणले दीर्घकालीन रूपमा बजारलाई बुलिश बनाउने विश्वास बढाएको छ ।
अर्थमन्त्रीले बजारमा सम्पत्ति शुद्धीकरण नहुने स्पष्ट गरेपछि लगानीकर्तामा सकारात्मक भावना थप विकसित भएको छ । उनले बजारलाई चासोपूर्वक हेरिरहेको हुँदा लगानीकर्ताले आगामी दिनमा बजारको गति उछाल आउने अपेक्षा राखेका छन् ।
नेपाल स्टक एक्सचेञ्व (नेप्से) ४८.७१ अकंले बढेर २८५१.२४ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.२४ प्रतिशत, विकास बैंक समूहको ०.७८ प्रतिशत, फाइनान्स समूहको १.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बिहिबार २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । १ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











