२०८३ लाई शेयर बजारले हरियो कार्पेटले स्वागतः कारोबारमा समेत रौनक, यी कारण आउने छ बुल!

काठमाडौँ । पछिल्ला दुई कारोबार दिनमा करेक्सन देखिएको शेयर बजारमा बुधबार भने पुनः सुधार आएको छ । लगातारको नाफा बुकिङपछि दबाबमा परेको बजारले २०८३ सालको पहिलो कारोबार दिनमै दोहोरो अंकको वृद्धि गर्दै हरियाली संकेत दिएको हो । यससँगै लगानीकर्तामा पुनः उत्साह फर्किएको देखिएको छ ।
२०८२ सालको अन्तिम कारोबार दिन राताम्य भएर बन्द भएको बजारले नयाँ वर्ष २०८३ लाई सकारात्मक सुरुवातसहित स्वागत गरेको हो । अघिल्ला दिनमा देखिएको करेक्सनलाई सामान्य सुधारको रूपमा व्याख्या गर्दै बजार फेरि आफ्नो माथिल्लो यात्रातर्फ फर्किएको विश्लेषण गरिएको छ ।
समग्र बजार वातावरण अहिले पनि अनुकूल रहेको लगानीकर्ताहरूको भनाइ छ । स्थायी सरकारको उपस्थिति, नीतिगत स्थिरताको अपेक्षा, बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट र अर्थतन्त्रका विभिन्न सूचकहरूमा देखिएको सुधारका संकेतहरूले बजारको दीर्घकालीन आधार मजबुत बन्दै गएको अनुमान गरिएको छ ।
यसैबीच, अर्थमन्त्रीले शेयर बजारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै आशंका नरहेको स्पष्ट पारेपछि लगानीकर्ताको मनोबल थप मजबुत बनेको छ । सरकार बजारप्रति सकारात्मक र संवेदनशील रहेको सन्देशले लगानीकर्तामा विश्वासको वातावरण अझै बलियो बनाएको विश्लेषकहरूको भनाइ छ ।
नियामक निकायहरू समेत सकारात्मक देखिएको अवस्थामा बजारले अब स्थिर र सकारात्मक लय समाउने अपेक्षा आम लगानीकर्तामा बढेको छ । आधारभूत पक्षहरू सुधार हुँदै गएको र वित्तीय अवस्था सुदृढ कम्पनीमा लगानी गर्न सकिने अवसर रहेको भन्दै दीर्घकालीन रूपमा शेयर बजार अझै उकालो यात्रामा जाने विश्वास व्यक्त गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२७ अकंले बढेर २८६६.८७ बिन्दुमा कायम भएको छ । आज २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.३० प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, फाइनान्स समूहको १.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रहेको हो ।











