दिपायल सिलगढीमा शैक्षिक सुधारका लागि युवाहरूको पहल: एकीकृत छात्रवृत्ति प्रणाली र समिति गठनको प्रस्ताव

काठमाडौँ । दिपायल सिलगढी नगरपालिकाको शैक्षिक क्षेत्रलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित स्थानीय युवाहरूको समूह ‘जेन–जी’ ले नयाँ शैक्षिक सुधार अभियान अघि सारेको छ। नगरभित्रको शैक्षिक प्रणालीमा देखिँदै आएका चुनौतीहरूलाई सम्बोधन गर्दै विशेषगरी छात्रवृत्ति वितरण प्रक्रियालाई एकीकृत र पारदर्शी बनाउने लक्ष्यसहित यो पहल अगाडि बढाइएको हो।
युवा अभियन्ता अंकित श्रेष्ठ र आशन्न खतिवडाको नेतृत्वमा तयार गरिएको ‘एकीकृत छात्रवृत्ति प्रणाली सम्बन्धी कार्यविधि’ को परिकल्पनाले नगरको शैक्षिक व्यवस्थापनमा संरचनागत सुधार ल्याउने अपेक्षा गरिएको छ। नगरभित्र विभिन्न शीर्षकमा वितरण हुँदै आएका छात्रवृत्तिहरूलाई एउटै संयन्त्रमार्फत व्यवस्थित गरी वास्तविक र जेहेन्दार विद्यार्थीहरूसम्म पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित विस्तृत प्रतिवेदन तयार पारिएको हो।
सोही अभियान अन्तर्गत तयार गरिएको प्रतिवेदन दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नगर प्रमुखसहित जनप्रतिनिधिहरूसँगको निरन्तर छलफलपछि तयार पारिएको उक्त प्रतिवेदनले छात्रवृत्ति व्यवस्थापनलाई मात्र नभई समग्र शैक्षिक गुणस्तर सुधारलाई समेत केन्द्रमा राखेको छ।
प्रतिवेदनमा प्रस्ताव गरिएको ‘दिपायल सिलगढी नगरपालिका छात्रवृत्ति व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार कार्यविधि, २०८३’ कार्यान्वयनमा आएपछि सम्भावित परिणाम, चुनौती र समाधानका उपायहरूको विस्तृत विश्लेषणसमेत समेटिएको छ। यसले नगरको शिक्षा प्रणालीलाई प्रविधिमैत्री, व्यवस्थित र जवाफदेही बनाउने आधार तयार गर्ने विश्वास लिइएको छ।
प्रतिवेदन हस्तान्तरणका क्रममा अंकित श्रेष्ठले नगरको शैक्षिक जग बलियो बनाउन नीतिगत स्पष्टता र प्रविधिमैत्री छात्रवृत्ति प्रणाली आवश्यक रहेकोमा जोड दिए।
प्रतिवेदन बुझ्दै वडा अध्यक्ष नरेश मलासीले युवाहरूको सक्रियता र सोचको प्रशंसा गरे। उनले भने, ‘नगरको शैक्षिक सुधारका लागि युवाहरूले देखाएको यो चासो अत्यन्तै सराहनीय छ। तपाईंहरूले प्रस्ताव गर्नुभएको एकीकृत छात्रवृत्ति प्रणाली तथा अन्य सुधारका बुँदाहरूलाई कार्यान्वयनको तहसम्म लैजान मेरो तर्फबाट पूर्ण सहयोग, साथ र समर्थन रहनेछ।’











