खानेपानीका इन्जिनियरको डेढ करोड अवैध सम्पत्ति, परे अख्तियारको फन्दामा

१० बैशाख २०८३, बिहीबार १८:२५

काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख (आठौँ तह इन्जिनियर) किशोरप्रसाद यादवविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यादवले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अनुसन्धान अवधिसम्म वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अभियोगपत्रमा उल्लेख छ । उनी सेवामा २०४७ साल असार ३१ गते प्रवेश गरेका थिए भने २०८० साल माघ २९ सम्मको अवधिको उनको आय–व्ययको विस्तृत छानबिन गरिएको हो ।

सो अवधिमा यादव र उनको परिवारको कुल वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ रहेको देखिएको छ । तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, शेयर लगानी, सवारी साधन खरिद तथा अध्ययन खर्चसमेत गरी कुल ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च गरेको पाइएको अख्तियारले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती निर्मला कुमारी यादवको नाममा समेत राखेको देखिएकाले उक्त सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*