सांग्रिला डेभलपमेन्ट बैंकले नाफा साढे ४८ करोड, ईपीएससहित अधिकांश सूचकमा चमक

१५ बैशाख २०८३, मंगलवार ०८:५४

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ९ महिनामा झण्डै साढे ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकले ४८ करोड ४५ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१८ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ४२ करोड ९१ लाख रुपैयाा रहेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ६२ करोड १८ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर ७१ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १९ करोड ७० लाख रुपैयाँ रहेको छ भने चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको हो । बैंकको जगेडा कोष सञ्चिति १ अर्ब ७० करोडबाट बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा भने बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको खराब कर्जा ४.९७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर ७.८७ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँबाट बढेर १७.३० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५८.७९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*