वाणिज्य बैंकको ब्याज आम्दानी १ खर्ब ४२ अर्बः अग्रस्थानमा नबिल र ग्लोबल, कुनको कति ?

१५ बैशाख २०८३, मंगलवार ११:०६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ४२ अर्ब पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ४२ अर्ब ६८ करोड ३५ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् ।

बैंकहरुले आर्जन गरेको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा २.०९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ३९ अर्ब ७६ करोड ६६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

७ बैंकको ब्याज आम्दानी घटेको छ भने १३ बैंकको बढेको छ । सर्वाधिक ब्याज आम्दानी गर्नेमा नबिल बैंक अघि रहेको छ । ९ महिनाको अवधिमा बैंकको ब्याज आम्दानी १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ रहेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.३६ प्रतिशतले बढी हो ।

तेस्रो त्रैमाससम्मको अवधिमा ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी ३.५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड रुपैयाँ पुगेको हो ।

९ महिनाको अवधिमा कुमारी बैंकको खुद ब्याज आम्दानी १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड, राष्ट्रिय वाणिज्य बैंकको २२.५८ प्रतिशतले बढेर ८ अर्ब ७० करोड, लक्ष्मी सनराइज बैंकको ०.२२ प्रतिशतले घटेर ७ अर्ब ८७ करोड, एनएमबि बैंकको १३.६८ प्रतिशतले बढेर ७ अर्ब ३७ करोेड, नेपाल बैंकको २.९९ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड, प्रभु बैंकको १.३६ प्रतिशतले बढेर ७ अर्ब १८ करोड, प्राइम बैंकको २.७० प्रतिशतले बढेर ६ अर्ब ८४ करोड र एभरेष्ट बैंकको १.३३ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको हो ।

हिमालयन बैंकको खुद ब्याज आम्दानी भने ११.८७ प्रतिशतले घटेको छ । ९ महिनामा बैंकको ब्याज आम्दानी ६ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको हो ।

समिक्षा अवधिमा कृषि विकास बैंकको ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड, सिद्धार्थ बैंकको ३.०४ प्रतिशतले बढेर ६ अर्ब ५२ करोड, एनआईसी एशिया बैंकको भने २०.७८ प्रतिशतले घटेर ६ अर्ब ३० करोडमा पुगेको छ ।

यता, सानिमा बैंकको ५ अर्ब १६ करोड, माछापुच्छ्रे बैंकको ४ अर्ब ३९ करोड, सिटिजन्स बैंकको ४ अर्ब ६७ करोड, एसबिआई बैंको ३ अर्ब ८६ करोड र स्टान्र्डड चार्टड बैंकको २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*