डरलाग्दो बन्दै अनलाइन ठगी धन्दाः ९ महिनामा सर्वसाधारणको ४५ करोड लुटियो, कुन माध्यमबाट कति ?

१८ बैशाख २०८३, शुक्रबार १५:०३

काठमाडौं । पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग भयावह रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि चैतसम्मको ९ महिनामा मात्रै अनलाइन माध्यमबाट सर्वसाधारणको ४४ करोड रूपैयाँ ठगी भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार कुल चालु आवको ९ महिनामा ४४ करोड ८८ लाख ९५ हजार २६७ रूपैयाँ अनलाइन ठगीमार्फत गायब भएको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा यो ठगी रकम १३३.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत वर्षभरिमा अनलाइनबाट १९ करोड २३ लाख ७४ हजार २५९ रूपैयाँ ठगी भएको थियो । यो तथ्यांकले अनलाइन आपराधिक क्रियाकलापहरू तीव्र गतिमा बढ्दै गएको देखाउछ।

प्रहरीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४४ जना ठगीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये ३२ जना पुरुष, ५ जना महिला र ७ जना विदेशी नागरिक छन् । यसै अवधिमा ७३ वटा ठगी सम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन् । यस्तै अघिल्लो आर्थिक वर्षमा ९२ जनालाई पक्राउ गरिएको थियो ।

विशेषगरी पछिल्लो समय खल्ती, फोनपे, कनेक्ट आइपिएस जस्ता डिजिटल वालेट प्रणालीहरू ठगीको नयाँ हतियार बनेका छन् । यस्ता वालेट सेवाको नाम दुरुपयोग गर्दै अनधिकृत समूहहरूले सर्वसाधारणका खातामा पहुँच बनाइ करोडौं रूपैयाँ ठगी गरिरहेका छन् । प्रयोगकर्ताले सेवा प्रदायकमा विश्वास गरेर दिएका विवरणहरू ठगी समूहले विभिन्न प्रविधि प्रयोग गरी ह्याकरको शैलीमा दुरुपयोग गरिरहेको पाइएको छ । प्रहरीका अनुसारका अनुसार वालेटकै प्रयोग गरी व्यक्तिगत बैंक खातासम्म पहुँच राख्ने कार्य बढ्दो छ ।

कुन माध्यमबाट कति ठगी ?

प्रविधिको प्रयोग बढेसँगै ठगीका नयाँ तरिका पनि दिनानुदिन फस्टाउँदै गएका छन् । डिजिटल माध्यमबाट गरिने ठगीमध्ये सबैभन्दा धेरै वालेटमार्फत ठगी भएको छ । यसबाट मात्रै ८ वटा मुद्दा दर्ता भएका छन् । यो अवधिमा वालेट मार्फत ठगी गर्ने १८ जना पुरुष र १ जना महिला गरी १ जना स्वदेशी नागरिक पक्राउ परेका छन् । वालेटमार्फत भएको ठगीबाट करिब २३ करोड ५७ लाख ७२० हजार रुपैयाँ बराबरको ठगी भएको छ ।

त्यस्तै अनलाइन बैंकिङमार्फत हुने ठगीका १२ वटा मुद्दा दर्ता भएका छन् । यस प्रकारको ठगीमा १ जना पुरुष र २ जना महिला पक्राउ परेका छन् भने २ जना विदेशी पक्राउ परेका छन् । यो माध्यमबाट गरिएको ठगीको अनुमानित रकम १ करोड ७४ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

अनलाइन किनमेलमार्फत ठगी गर्ने घटना पनि उल्लेख्य छन् । यस शीर्षकमा ५ वटा मुद्दा दर्ता भएका छन् । जस मार्फत ९ करोड ४५ लाख २९ हजार रूपैयाँ ठगी भएको हो ।

समाजिक सञ्जाल मार्फत चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ५९ लाख ९७ हजार रुपैयाँ सर्वसाधारणको ठगीमा परेको छ । जसमा ४ जना पक्राउ भएका छन् ।

हेर्नुहोस् कुनबाट कति भयो ठगी

अनलाइन ठगी नियन्त्रणमा सबै भन्दा ठूलो भूमिका नेपाल राष्ट्र बैंकको हुुनुपर्ने हो । तर राष्ट्र बैंक सर्वसाधारणको करोडौं रकम ठगी हुँदा समेत अभिभावकीय भूमिका निर्वाह गर्न सकेको छैन । यसबाट नागरिकको जीउधन सुरक्षित राख्ने जिम्मेवारीबाट राष्ट्र बैंक पन्छिएको स्पष्ट देख्न सकिन्छ। यो लापरवाहीबाट लाखौं प्रयोगकर्ताको खातामा रहेको रकम जोखिममा परेको छ ।

अनलाइन ठगीमा प्रहरी प्रशासनको भूमिका समेत सुस्त देखिएको छ । घटनाको उजुरी आएपछि मात्रै छानबिनमा जाने प्रहरीको प्रवृतिले अनलाइन ठगहरूको मनोबल थप बलियो हुँदै गएको छ ।

अनलाइन ठगी कम गर्न प्रहरी निकै सक्रिय भएर काम गरिरहेको प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले बताए । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘हामीले अनलाइन ठगी कम गर्ने अपराध अनुसन्धानलाई थप सशक्त बनाउँदै लगिरहेका छौं । यस सम्बन्धी प्रहरी साथीहरूलाई नयाँ नयाँ टेक्नोलोजीबारे जानकारी दिने र क्षमता अभिवृद्धि तालीम दिने काम हामीले गर्दै आइरहेका छौं । दिन प्रतिदिन अनुसन्धानको दायरा समेत द्रूत गतिमा अघि बढेको छ ।’

ईसेवालगायत वालेट ठगी भयावह: ९ महिनामा २४ करोड गायब, प्रहरी मैदानमा हुँदा कहाँ चुक्यो राष्ट्र बैंक ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*