कोरोना बीमाको भुक्तानीका लागि २० निर्जिवन बीमा कम्पनीले दुई अर्ब ८५ करोड भुक्तानी गर्नुपर्ने बीमा समितिको प्रस्ताव, पुनर्बीमा कम्पनीलाई एक अर्ब ३७ करोडको भार

२९ कार्तिक २०७८, सोमबार २२:००

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी सहित २० वटा निर्जिवन बीमा कम्पनीमाथि अर्बौ रुपैयाँको आर्थिक भार थपिने गरी प्रस्ताव तयार पारी अर्थमन्त्रालय समक्ष पेश गरेको छ ।

बीमा समितिले हालै अर्थमन्त्रालयमा पेश गरेको कोरोना बीमाको बक्यौता दावी भुक्तानी सम्बन्धी दुई फरक फरक विकल्पमा नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीले मिलेर भुक्तानी गर्ने कुरा उल्लेख गरिएको छ । उक्त प्रस्ताव अनुसार नेपाल पुनर्बीमा कम्पनीको टाउकोमा एक अर्ब ३७ करोड २७ लाख रुपैयाँ थप आर्थिक भार थप हुनेछ भने २० वटा निर्जिवन बीमा कम्पनीमा दुई अर्ब ८५ करोडभन्दा बढि भार थपिने भएको छ ।

सो रकम समानुपातिक रुपमा वितरण गर्दा एउटा निर्जिवन बीमा कम्पनीको भागमा १४ करोड २५ लाखभन्दा बढि पर्ने देखिएको छ । बीमा समितिले प्रस्ताव रुपमा पेश गरेको उक्त पत्र कार्यान्वयनमा आएमा अबको केही महिनाभित्रैमा बीमितहरुले कोरोना बीमाको दावी भुक्तानी पाउने बीमा समितिको भनार्ई छ ।

कोरोना बीमाको ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रुपैयाँ भन्दा बढि बक्यौता रहेको छ । सो रकम पुनर्बीमा कम्पनी, बीमा समिति र २० वटै निर्जिवन बीमा कम्पनी र नेपाल सरकारले भाग लगाएर भुक्तानी गर्ने प्रस्ताव पेश गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिए ।

बीमा समितिले केही दिन पहिले अर्थ मन्त्रालयलाई लेखेको पत्रमा पहिलो विकल्पको रुपमा राष्ट्र सेवक कर्मचारीहरुको दायित्व नेपाल सरकारले व्यहोर्ने, सरकारी कर्मचारी बाहेकको दायित्वलाई शत प्रतिशत मानी, ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने, १० प्रतिशत बीमा समितिले व्यहोर्ने, १० प्रतिशत दायित्व नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने र बाँकी रहने ३० प्रतिशत दायित्व २० वटा निर्जिवन बीमा कम्पनीहरुले मिलेर व्यहोर्ने प्रस्ताव गरिएको छ ।

बीमा समितिले अघि सारेको दोस्रो विकल्पमा कोरोना बीमाको बक्यौता रकम ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रुपैयाँ मध्ये ५५ प्रतिशत अर्थात छ अर्ब २९ करोड १८ लाख १५ हजार १९० रुपैयाँ नेपाल सरकारले व्यहोर्ने, १२ प्रतिशत एक अर्ब ३७ करोड २७ लाख ५९ हजार ६७७ रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने, नेपालमा २५ प्रतिशत अर्थात दुई अर्ब ८५ करोड ९९ लाख १५ हजार ९९५ रुपैयाँ नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनीले व्यहोर्ने, बाँकी रहेको प्रतिशत अर्थात ९१ करोड ५१ लाख ७३ हजार ११८ रुपैयाँ बीमा समितिको कोषबाट व्यहोर्ने प्रस्ताव गरिएको छ ।

बीमा समितिले यस्तो प्रस्ताव अघि सारेपछि निर्जिवन बीमा कम्पनीहरु त्रस्त बन्न पुगेका छन् । कोरोना बीमाकै कारण नेपाल पुनर्बीमा कम्पनीको लाभांश समेत वितरण गर्न अर्थमन्त्रालयले अनुमति नदिई रोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*