ग्रामीण शिक्षाको गौरव बनेको सरस्वती मावि: एसईईमा ७८.७४ प्रतिशत विद्यार्थी ग्रेडेड, ४ जनाले ल्याए ए प्लस

काठमाडौँ । डोटीको के.आई.सिंह गाउँपालिका–५ रानागाउँस्थित श्री सरस्वती माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेको छ । ग्रामीण भेगमा अवस्थित भए पनि विद्यालयले पछिल्लो वर्षहरूमा शैक्षिक गुणस्तरमा गरेको सुधार र निरन्तर प्रयासका कारण यस वर्षको नतिजामा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो ।
विद्यालयबाट एसईई परीक्षामा सहभागी ७६ जना विद्यार्थीमध्ये ६० जना विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् । यससँगै विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ७८.७४ पुगेको छ जसलाई स्थानीय स्तरमा मात्र नभई जिल्लास्तरमै पनि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा अपेक्षाकृत कमजोर नतिजाको चर्चा भइरहेका बेला सरस्वती माध्यमिक विद्यालयले भने आफ्नो अलग पहिचान बनाउन सफल भएको छ ।
विद्यालयका विद्यार्थीमध्ये चार जनाले उत्कृष्ट श्रेणी ए प्लस ल्याएका छन् । ए प्लस ल्याउने विद्यार्थीहरूमा लोकेश पार्की, तिलकसिंह पनेरु, सुमन पार्की र भूमिका कठायत रहेका छन् । यसैगरी १० जना विद्यार्थीले ए ग्रेड प्राप्त गरेका छन् ।
पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरप्रति विभिन्न प्रश्न उठिरहेका बेला सरस्वती माध्यमिक विद्यालयले प्राप्त गरेको यो नतिजा विशेष अर्थपूर्ण मानिएको छ । ग्रामीण क्षेत्रमा सीमित स्रोतसाधन, शिक्षक अभाव र भौतिक पूर्वाधारका चुनौतीका बीच पनि विद्यालयले निरन्तर सुधार गर्दै आएको छ जसको परिणामस्वरूप विद्यार्थीहरूको सिकाइ उपलब्धिमा उल्लेखनीय वृद्धि देखिएको हो ।
वि.सं. २०३२ सालमा स्थापना भएको विद्यालयले लामो शैक्षिक यात्रा तय गर्दै आएको छ । २०५७ सालदेखि एसईई (तत्कालीन एलएलसी) परीक्षामा सहभागी हुँदै आएको विद्यालयले समयसँगै शैक्षिक संरचना र शिक्षण पद्धतिमा परिवर्तन गर्दै आएको छ । विशेषगरी पछिल्लो केही वर्षमा विद्यालयले अपनाएको सुधारात्मक नीति र शिक्षण विधिले विद्यार्थीको सिकाइ क्षमतामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
विद्यालयले वि.सं. २०७८ सालदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो । अभिभावकहरूको माग र आधुनिक शिक्षाको आवश्यकता अनुसार अंग्रेजी माध्यम सुरु गरिएको विद्यालय प्रशासनको भनाइ छ । अंग्रेजी माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीहरू एसईई परीक्षामा पनि सोही माध्यमबाट सहभागी हुँदै आएका छन् जसले उनीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई थप मजबुत बनाएको विद्यालयको दाबी छ ।
विद्यालयले केवल किताबी ज्ञान मात्रै नभई विद्यार्थीलाई व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप सिकाउनेतर्फ पनि विशेष ध्यान दिने गरेको विद्यालयका प्रधानाध्यापक मिन बहादुर राना बताए । ‘विद्यालय केवल किताबी ज्ञान दिने थलो होइन, विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि दिन सक्नुपर्छ’ प्रधानाध्यापक रानाले भने, ‘हामीले विद्यार्थीलाई दुना–टपरी बनाउन सिकाउने, ऊनका कपडा बुन्ने, काठबाट विभिन्न सामग्री तयार गर्ने जस्ता सीपहरू सिकाउँदै आएका छौं । यसका साथै नृत्य, खेलकुद, योग तथा कराँते जस्ता प्रशिक्षण पनि नियमित रूपमा सञ्चालन गरिरहेका छौं ।’
विद्यालयमा विद्यार्थीको सर्वांगीण विकासलाई प्राथमिकतामा राखिएको रानाले जानकारी दिए । उनले भने, ‘शैक्षिक उपलब्धिसँगै अनुशासन, स्वास्थ्य, नेतृत्व क्षमता र सामाजिक व्यवहार सुधार गर्न विभिन्न अतिरिक्त क्रियाकलापहरूलाई पनि निरन्तरता दिइएको छ । यसले विद्यार्थीको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।’
विद्यालयले अब आगामी दिनमा थप आधुनिक शैक्षिक कार्यक्रमहरू विस्तार गर्ने योजना बनाएको छ । विशेषगरी विद्यालय परिसरभित्रै क्रिकेट एकेडेमी सञ्चालन गर्ने तयारी भइरहेको प्रधानाध्यापक रानाले जानकारी दिए । खेलकुदमार्फत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार गर्ने उद्देश्यले यस्तो योजना अघि सारिएको हो ।
विद्यालय प्रशासनले अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाबीचको सहकार्यलाई नै सफलताको मुख्य आधार मानेको छ । प्रधानाध्यापक रानाका अनुसार आगामी दिनमा यो सहकार्यलाई अझ सुदृढ बनाउँदै विद्यालयलाई जिल्लाकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।












