डा. मनोज शर्मा प्रधानन्यायाधीश प्रस्ताव : संसदीय सुनुवाइ समितिमा ७ उजुरी, प्रक्रिया अघि बढ्दै

३ जेष्ठ २०८३, आईतवार १८:२८

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म ७ वटा उजुरी दर्ता भएका छन् ।

समितिले वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै शर्माको नियुक्ति उपयुक्त नभएको ठान्ने व्यक्तिहरूलाई प्रमाणसहित उजुरी पेश गर्न आह्वान गरेको थियो । सो क्रममा उजुरी दिन १० दिनको समयसीमा तोकिएको थियो ।

समितिका अनुसार उजुरीकर्ताले आफ्नो स्पष्ट पहिचानसहित नाम, ठेगाना र सम्पर्क विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

उजुरी दर्ताको अन्तिम समय सोमबार कार्यालय समयसम्म कायम रहेको बताइएको छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमता मूल्यांकन गरेपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्ने प्रावधान छ ।

उजुरीहरू प्राप्त भएपछि समितिले तीमाथि प्रारम्भिक छलफल र आवश्यक छानबिन गर्नेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ प्रक्रिया अघि बढाइने समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*