बालेनले छोडेनन् मसानघाट समेत, एकातिर लाश जल्दै–अर्कोतिर डोजर चल्दै

काठमाडौं । सोमबारको प्रतिनिधि सभाको बैठकमा बर्दिया क्षेत्र नं १ बाट निर्वाचित सांसद ठाकुर सिंह थारुले सभामुख डोलप्रसाद अर्यालसँग आकस्मिक समय मागे र भने, गत जेठ १ गते बर्दियाको बारबर्दिया नगरपालिका वडा नं १ स्थित लठ्ठवा मसानघाटमा डोजर चलेको भिडियो सामाजिक सञ्जालमा ट्रोल बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद थारुले संसदको बैठकमा भने, ‘एकातिर लाश जलिरहेको र अर्कोतिर मसान घाटको टहरा भत्काएको दृष्य हृदयविधारक थियो ।’ सांसद थारुले मसानघाटमा डोजर लगाइएको बिषयलाई ‘मानवीय संवेदनामाथिको प्रहार’ भनेर संसदमा नैतिक प्रश्न उठाएका छन् । उक्त घाटमा बारबर्दिया र मधवनी नगरपालिकामा आम सर्वसाधारणले मानिसको मृत्यु भएपछि अन्तिम संस्कार गर्न सयौं बर्षदेखि प्रयोग गर्दै आएको दावी गरेका छन् । सो स्थानमा घाटमा पुगेका मलामीहरुलाई घाम र पानीबाट बचाउन ओत लाग्न मिल्ने गरी टहरा निर्माण गरिएको बिषय सांसद थारुले जानकारी गराएका छन् । एक जना वनअधिकृतको सनकमा मसानघाटमा डोजर चलाउने कार्य स्थानीयबासीको मानवीय संवेदनमाथि प्रहार भएको सांसद ठाकुर सिंह थारुले दावी गरेका छन् ।
सांसद थारुले आफ्नै पार्टीका नेताहरु मुख्यतः प्रधानमन्त्री बालेन शाहले चलाएको डोजर आतंकलाई मानवीय संवेदनामाथि प्रहार भएको भनेर घुमाउरो भाषामा संसदमा विरोध जनाएका छन् । संसदमा वन अधिकृतको आदेशले डोजर चलाएको भनेर दावी गरेपनि प्रधानमन्त्री बालेन्द्र शाह र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चलाएको देशव्यापी डोजर आतंकको एउटा नमुना बर्दिया लठ्ठवा मसानघाटमा डोजर काण्ड पनि एक हो । सुकुम्बासी बस्तीमा नागरिकले आत्महत्या गर्ने गरी डोजर आतंक मच्चाएको सरकारले हुँदा हुँदा मसान घाट समेत नछोडी डोजर चलाउन थालेपछि रास्वपा स्वयम्कै सांसदहरु पनि तीन छक पर्न थालेका छन् । सोमबार संसदमा सरकारले मसानघाट समेत भत्काएको भन्दै आलोचना भइरहँदा रास्वपाकै सांसदहरुले स्तब्ध बनेर सुनिरहेको दृष्य देखिएको थियो ।

सांसद ठाकुर सिंह थारु, सोमबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै । तस्विर: संसद सचिवालयको भिडियोबाट ।
यथार्थमा उक्त मसानघाट संघीय सरकारको निर्णयको आधारमा भत्काइएको बारबर्दियामा रहेको लठ्ठवा मसानघाट भत्काइएको बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले उक्त मसानघाट नगरपालिकाकै पैसामा मलामीहरुलाई पानी पर्दा ओत लाग्न मिल्ने गरी टहरा निर्माण गरिएको जानकारी बीमापोष्टलाई जानकारी दिए । ‘मलामीलाई पानी पर्दा ओत लाग्ने ठाउँ हुँदैन । बजेट खर्च गरेर टहराहरु बनाएका थियौं । लठ्ठवा मसानघाटको बिषयमा अहिलेसम्म कसैले पनि आपत्ति जनाएका थिएन । कसको आदेश हो ? थाहा भएन । एकाएक आएर भत्काइसकेपछि त्यसको भिडियो बाहिर आयो’, अध्यक्ष थारुले भने, ‘हामीले बजेट हालेरै बनाएको हो । एकाएक संघीय सरकारको आदेश भन्दै भत्काइएको छ, हाम्रो घोर आपत्ति छ । स्थानीय सरकारले जनताको पसिनाबाट बनाएको सो टहरा भत्काउने कार्य कुनै पनि हालतमा जनताले स्वीकार गर्ने छैनन् ।
देशव्यापी रुपमा डोजर आतंक मच्चाउँदै आएको सरकारले गरिब र सुकुम्बासीहरुलाई आँशुमा डुबाउँदै राजधानीसहित देशैभरि डोजर चलाइरहेको थियो । सर्वोच्च अदालतको आदेशपछि पनि डोजर आतंक मच्चाउन रोकिएको छैन । हुँदा हुँदा मानिसको अन्तिम संस्कार गर्ने मसानघाट समेत भत्काउन थालेपछि यो केवल आतंक मात्र नभई २१ औं शताब्दीमा नेपालका शासकहरुले गरेको क्रूर दमन र अमानवियताको पराकाष्ठाको रुपमा नयाँ इतिहास लेखिन पुगेको देखिन आएको छ ।












