सरकारी परीक्षणमै फेल करेन्ट चाउचाउ, आदेश लत्याएर उपभोक्ता फसाउँदै यशोदा फुड्स

८ जेष्ठ २०८३, शुक्रबार १२:०६

काठमाडौँ । नेपाली बजारमा अत्यधिक पिरो स्वादका कारण चर्चामा रहेको ‘करेन्ट’ चाउचाउ अहिले गम्भीर विवादमा तानिएको छ । सरकारी निकायले नै गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता गर्न आदेश दिएपछि उत्पादक कम्पनी यशोदा फुड्स प्रालि दबाबमा परेको हो । तर, गल्ती स्वीकार गर्दै उपभोक्ताप्रति जिम्मेवार बन्नुपर्ने अवस्थामा कम्पनी भने आफ्नो छवि जोगाउन प्रचारात्मक विज्ञप्ति निकालेर उपभोक्तालाई भ्रमित पार्न खोजिरहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका विभिन्न चाउचाउका नमुनाहरू परीक्षण गर्दा ‘करेन्ट’ र ‘लाली’ ब्राण्डका चाउचाउमा सरकारले तोकेको मापदण्डभन्दा बढी ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ फेला परेको थियो । विभागका अनुसार रुपन्देहीको तिलोत्तमास्थित यशोदा फुड्स प्रालिले उत्पादन गरेको १०० ग्रामको ‘करेन्ट’ चाउचाउको ब्याच नम्बर ०४ ए र ५० ग्रामको ‘लाली’ चाउचाउको ब्याच नम्बर ०२ ए गुणस्तर मापदण्ड विपरीत भेटिएको हो ।

सरकारी प्रयोगशालाको परीक्षण प्रतिवेदनपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम ती उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो । उक्त दफाको २ मा भनेको छ, (२) ‘अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणको क्रममा कुनै खाद्य पदार्थको उत्पादन, प्रशोधन वा पैठारीको क्रममा भएको त्रुटी, कमी, कमजोरी वा अन्य कुनै कारणबाट यस ऐन बमोजिम तोकिएको स्वच्छता, गुणस्तर वा मापदण्ड अनुरुप नभएको वा मानव उपभोगको लागि सुरक्षित रहेको नदेखिएमा अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणमा जाने अधिकारीको प्रतिवेदनको आधारमा महानिर्देशकले त्यस्तो खाद्य पदार्थको उत्पादन गर्ने, प्रशोधन गर्ने वा नेपालमा पैठारी गर्ने खाद्य व्यवसायीलाई त्यस्तो खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिनेछ ।’

यशोदा फुड्सका ‘करेन्ट’ र ‘लाली’ चाउचाउ गुणस्तरहीन रहेको पुष्टि, स्वास्थ्यमा गम्भीर जोखिमको खतरा

सोही ऐनको उपदफा (४) अनुसार अर्को सूचना जारी नभएसम्म ती उत्पादनको बिक्री वितरण रोक्नसमेत आदेश दिइएको छ । अर्थात् सरकारले स्पष्ट रूपमा ती उत्पादन उपभोगका लागि सुरक्षित नरहेको संकेत गरिसकेको अवस्था छ । तर, कम्पनी भने आफ्नो उत्पादन सुरक्षित रहेको दाबी गर्दै प्रचारमा उत्रिएको छ ।

सरकारी निकायको निष्कर्षलाई कमजोर देखाउने प्रयास गर्दै कम्पनीले विज्ञप्तिमार्फत आफ्नो ब्राण्ड बचाउन खोजेको देखिन्छ । तर, उपभोक्ता अधिकारकर्मीहरू भन्छन् प्रयोगशालाको परीक्षणपछि आएको सरकारी निर्णयभन्दा माथि कुनै कम्पनीको दाबी हुन सक्दैन । उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा पारदर्शिता र जिम्मेवारी हुनुपर्ने कम्पनी उपभोक्तालाई भ्रमित बनाउन लागि परेको देखिएको हो ।

पछिल्लो समय नेपालमा अत्यधिक पिरो स्वाद भएका इन्स्ट्यान्ट नुडल्सको लोकप्रियता तीव्र रूपमा बढेको छ । विशेषगरी युवापुस्तामाझ ‘ट्वाक्क पिरो’ खाने ट्रेन्ड नै बनेको छ । यही ट्रेन्डलाई व्यवसायिक अवसर बनाउँदै यशोदा फुड्सले ‘करेन्ट’ चाउचाउ बजारमा ल्याएको थियो । अहिले यो उत्पादन नेपालमा मात्रै होइन विदेशसम्म निर्यात हुने अवस्थामा पुगेको बताइन्छ ।

काठमाडौँमै कम्पनीले ‘करेन्ट’ चाउचाउ खानका लागि विशेष आउटलेट सञ्चालन गरेको छ । सामाजिक सञ्जालमा हुने प्रचार, चम्किला विज्ञापन, युट्युब कन्टेन्ट र युवालाई लक्षित ब्राण्डिङले यसको बजार झनै विस्तार गरेको छ ।

तर, यति ठूलो व्यापार गर्ने कम्पनीले उपभोक्ताको स्वास्थ्यप्रति भने गम्भीर लापरबाही गर्दै आइरहेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार अत्यधिक पिरो, नुनिलो र रसायनयुक्त चाउचाउ नियमित खानु मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । ‘करेन्ट’ जस्ता चाउचाउमा अत्यधिक सोडियम अर्थात् नुन प्रयोग हुने गर्दछ । यसले उच्च रक्तचाप, मुटु रोग र मिर्गौलासम्बन्धी समस्या निम्त्याउन सक्छ । अत्यधिक मसलेदार झोलले पेट पोल्ने, ग्यास्ट्रिक, अल्सर र पाचन प्रणालीमा गम्भीर असर पु¥याउने चिकित्सकहरूको भनाइ छ ।

स्वाद बढाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट (एमएसजी) र अन्य कृत्रिम रसायनले दीर्घकालीन रूपमा शरीरमा असर पु¥याउने जनस्वास्थ्यविद्हरू बताउँछन् । नियमित सेवनले मोटोपना, मधुमेह, मेटाबोलिक डिसअर्डर तथा पाचन प्रणालीसम्बन्धी रोगको जोखिम बढ्ने उनीहरूको चेतावनी छ । एक जनस्वास्थ्यविद्ले बीमापोष्टलाई भने पिरो चाउचाउ खराब खानेकुराको श्रेणीमा पर्दछ । उनी भन्छिन्, “पिरो चाउचाउमा प्रयोग हुने फाइबररहित मैदा, मोनोसोडियम ग्लुटामेट, रसायन मिश्रित पिरो धुलो र फूड कलरले मानिसलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।”

उनका अनुसार यस्ता चाउचाउका कारण नेपालीहरूमा पाचन प्रणाली बिग्रने, पेट पोल्ने, कब्जियत हुने, पायल्स हुनेजस्ता समस्या बढिरहेका छन् । ‘एक हिसाबले भन्ने हो भने मानिसहरूले पिरो चाउचाउको रूपमा विष नै खाइरहेका छन्’ उनी भन्छिन् ।

चाउचाउ उत्पादक कम्पनीहरूले उपभोक्तालाई बानी बसाल्नकै लागि एमएसजीजस्ता तत्व प्रयोग गर्ने गरेका छन् । यसले स्वादको लत बस्ने र उपभोक्ता बारम्बार त्यही खानेकुरातर्फ आकर्षित हुने अवस्था सिर्जना हुन्छ । तर, यही रसायनका कारण स्वास्थ्यमा समस्या भइरहेको कुरा धेरैलाई थाहा हुँदैन ।

विशेषगरी बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, ग्यास्ट्रिकका बिरामी र उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि यस्तो खाना झनै खतरनाक हुने विज्ञहरूको चेतावनी छ । नियमित रूपमा यस्ता चाउचाउ खुवाउँदा बालबालिकामा कुपोषणको जोखिमसमेत रहने बताइन्छ । किनकि इन्स्ट्यान्ट नुडल्समा कार्बोहाइड्रेट धेरै भए पनि प्रोटिन, भिटामिन र मिनरल अत्यन्त कम हुन्छ । अर्थात् पेट भरिएजस्तो भए पनि शरीरले आवश्यक पोषण पाउँदैन । विज्ञहरूका अनुसार यस्ता खाना ‘फिल्लर’ मात्र हुन्, जसले भोक त मार्छ तर शरीरलाई आवश्यक पोषण दिन सक्दैन ।

भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित विभिन्न स्वास्थ्यसम्बन्धी अध्ययनले इन्स्ट्यान्ट नुडल्सको प्याकेजिङमा प्रयोग हुने बिसफेनोल–ए (बीपीए) जस्ता तत्वले क्यान्सरको जोखिमसमेत बढाउन सक्ने उल्लेख गरेका छन् । विशेषगरी पाचन प्रणाली र आन्द्रामा असर पुग्ने तथा महिलाहरूमा पेटसम्बन्धी रोगको जोखिम बढ्ने दाबी गरिएका छन्।

सरकारी निकायले स्पष्ट रूपमा गुणस्तरहीन भन्दै उत्पादन फिर्ता गर्न आदेश दिइसकेको अवस्थामा कम्पनीले जिम्मेवारी स्वीकार गर्नुको सट्टा प्रचारात्मक बचाउमा उत्रिनु झन् गम्भीर विषय भएको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।

यस कम्पनीले सन् २०२५ मा मात्रै ७ अर्ब ६८ करोडको कारोबार गरेको थियो ।

मजदुरमाथि श्रम शोषण गर्दै आइरहेको यशोदा फुड्सद्वारा वर्षदिनमा ७ अर्ब ६८ करोडको व्यापार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*