१४ वटा बैंकिङ कसूर मुद्दामा दोषी ठहर फरार राजु मिजार धुम्बाराहीबाट पक्राउ

२६ जेष्ठ २०८३, मंगलवार १८:३७

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर तथा चेक अनादर सम्बन्धी १४ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

सीआईबीको टोलीले काठमाडौंको साविक विष्णु गाविस–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–५ बस्ने ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं महानगरपालिका–४, धुम्बाराही क्षेत्रबाट जेठ २५ गते पक्राउ गरिएको सीआईबीका सह–प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

मिजारविरुद्ध काठमाडौं जिल्ला अदालतमा १२ वटा बैंकिङ कसूर र २ वटा चेक अनादरसम्बन्धी मुद्दा दायर भएका थिए। ती मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै कुल २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ५३४ रुपैयाँ ८० पैसा जरिवाना तथा १ लाख ७२ हजार ९४१ रुपैयाँ ३९ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।

अदालतले उनलाई ९० दिन कैद सजायसमेत तोकेको थियो। फैसलापछि फरार रहेका मिजारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*