त्रुटि सच्याउनु देशद्रोह होइन, जेठ १५ गते बिहान कर निर्धारण भयो, १४ गते गाडी भन्सार पास: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटिहरू स्वीकार गर्दै प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिमा आफ्नो बचाउ गरेका छन्। उनले बजेटपछि गरिएको संशोधनलाई लिएर फैलाइएको भ्रमप्रति असन्तुष्टि व्यक्त गर्दै करका दरमा कुनै ठूलो हेरफेर नभएको दाबी गरे।
समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले जेठ १५ गते बजेट वक्तव्यमार्फत नेपाल सरकारको आय–व्ययको विवरण प्रस्तुत गरिएको र त्यसलगत्तै अर्थ विधेयक सार्वजनिक गरिएको स्मरण गराए। बजेट तयारीका क्रममा कर्मचारीहरू रातभर खटिएको उल्लेख गर्दै उनले जेठ १५ गते धेरै कर्मचारीले नसुतेर बिहान ३, ४ र ५ बजेसम्म काम गरेको बताए।
उनले भने, ‘१६ गते शनिबार भयो । १७ गते अर्थ विद्ययकमा केहि सामान्य त्रुटि भेटिएपनि केहि कर्मचारी साथीहरु मेरामा आउनु भयो । कर्मचारीले आफ्नैले पत्ता लगाएर मन्त्रीकामा आउनु भयो । कर्मचारी साथीहरूले ‘मन्त्रीज्यू, केही त्रुटि भएका रहेछन्, यसलाई सच्याऔं भनेर जानकारी गराउनुभएको थियो।’
अर्थमन्त्रीका अनुसार आर्थिक विधेयकमा केही सामान्य त्रुटि भेटिएका थिए। उनले विगतमा पनि यस्ता संशोधन हुने गरेको उल्लेख गर्दै गत वर्ष मात्रै ७३ वटा कर दर परिवर्तन गरिएको बताए। तर यसपटक करको दरमा एउटा मात्रै परिवर्तन गरिएको उनको दाबी थियो।
उनका अनुसार शिक्षा क्षेत्रमा गरिएको खर्चलाई कर कट्टीयोग्य बनाउने विषय बजेट बहसमा समावेश भए पनि आर्थिक विधेयकमा उल्लेख हुन छुटेको थियो। त्यस्तै, बजेटअघि नै अन्तःशुल्क तिरिसकेका विद्युतीय तथा अन्य सवारीसाधनबारे अस्पष्टता देखिएपछि त्यसलाई पनि सच्याइएको उनले बताए।
करको दर परिवर्तनसम्बन्धी विवादबारे बोल्दै उनले प्लास्टिक र कपडाले बेरिएका सामग्रीमा ३० प्रतिशत भन्सार दर लाग्दै आएको र सोही वर्गीकरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जीवनरक्षक खोप तथा रगत बोक्ने क्यारियरसमेत परेको पाइएको बताए। राजस्व परामर्श समितिसँग लामो छलफलपछि त्यस्ता सामग्रीलाई छुट्टै कोड दिएर १५ प्रतिशत भन्सार दरमा ल्याउने निर्णय गरिएको उनले जानकारी दिए।
‘यो राम्रो काम थियो, राजद्रोह वा देशद्रोह होइन’ उनले भने, ‘तर मानवीय त्रुटिका कारण छुट्याउन खोजिएका सामग्रीसँगै अन्य वस्तुहरू पनि १५ प्रतिशतमा झरेछन्। त्यसपछि फेरि ती वस्तुलाई ३० प्रतिशतमै कायम गरिएको हो। करको दरमा परिवर्तन यति मात्रै हो।’
वाग्लेले सानो विषयलाई अनावश्यक रूपमा ठूलो बनाइएको टिप्पणी गर्दै दशकौंमा बनेको आफ्नो सार्वजनिक छविलाई धुमिल्याउने प्रयास भएको भन्दै खेद व्यक्त गरे।
विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी विवादबारे पनि उनले स्पष्टीकरण दिए। उनका अनुसार ५० लाख रुपैयाँसम्मका सवारीसाधनलाई विलासी वर्गमा नराख्ने निर्णय गरिएको थियो। यद्यपि ५० लाखको गाडी चढ्नेहरूलाई उच्च वर्गका रूपमा लिन सकिने भए पनि त्यस्ता सवारीमा अतिरिक्त भार नबढाउने नीति लिइएको उनले बताए।
उनले भने, ‘१३ प्रतिशत कर र रोड डेभलपमेन्ट शुल्क जोड्दा भन्सार मूल्यबाट बजारसम्म आइपुग्दा करिब ४५ लाख रुपैयाँसम्म पर्ने गाडीमा ५ प्रतिशतको सट्टा २.५ प्रतिशत मात्रै रोड डेभलपमेन्ट शुल्क लाग्ने व्यवस्था गर्ने निर्णय भएको थियो। तर ५० लाखभन्दा कम मूल्यका सवारीमा २.५ प्रतिशत शुल्क लाग्ने भन्ने कुरा लेख्न छुटेछ। त्यही कुरा सच्याइएको हो।’
उनका अनुसार यो त्रुटि भएको विषय जेठ १७ गते नै प्रतिनिधिसभालाई जानकारी गराइएको थियो। अर्थमन्त्रीले आर्थिक विधेयकका १६ पाना गायब भएको आरोपलाई पनि भ्रमपूर्ण दाबी बताए। ‘कन्टेन्टमा कुनै परिवर्तन भएको छैन। परिवर्तन भएको छ भने भन्नुहोस्, म कटघरामा उभिन तयार छु’ उनले भने।
उनले आधारहीन आरोप लगाउँदा संसद्को गरिमा र सांसदहरूको ओज कमजोर हुने टिप्पणी गर्दै जेठ १७ गतेपछि कुनै पनि परिवर्तन नगरिएको दाबी गरे। कर्मचारीहरूले टाइपिङका क्रममा केही गल्ती गरेको र त्यसलाई सच्याउनु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो।
उदाहरण दिँदै उनले उपमहानगरपालिका र महानगरपालिकाबाहिर फिल्म हलमा लगानी गर्ने लगानीकर्तालाई आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था बजेट वक्तव्यमा घोषणा गरिएको भए पनि आर्थिक विधेयकमा उल्लेख हुन छुटेको बताए। त्यसलाई समेत पछि सच्याइएको उनको भनाइ थियो।
‘५–६ वटा विषयमा भएका त्रुटि मात्रै सच्याइएका हुन्’ उनले भने, ‘पाना गायब भयो, रातारात परिवर्तन गरियो, संसद्लाई जानकारी नदिई कर हेरफेर गरियो भन्ने सबै कुरा भ्रम हुन्।’
भन्सार पास गरिएका सवारीसाधनबारे उठेको प्रश्नमा उनले जेठ १३ र १४ गते गाडीहरू नेपाल भित्रिएको तथ्य भन्सार अभिलेखमा देखिएको बताए। तर कुन प्रकारका सवारीमा कति कर लगाउने भन्ने अन्तिम निर्णय भने जेठ १५ गते बिहान मात्रै भएको उनको भनाइ थियो।
‘करको विषय जेठ १५ गते बिहान मात्रै फाइनल भएको हो’ उनले भने, ‘आन्तरिक राजस्व विभाग, भन्सार विभाग, अर्थ मन्त्रालयका वरिष्ठ कर्मचारी, मेरा पार्टीका केही साथीहरू, सभापति र प्रधानमन्त्रीसँगको सामूहिक छलफलपछि यो निर्णय गरिएको हो।’
कसैलाई पूर्वसूचना दिएर गाडी भित्र्याउन लगाइएको आरोप पनि उनले अस्वीकार गरे। ‘अर्थमन्त्रीले खुुसुखुसु ‘कर बढ्दैछ, गाडी ल्याउनु’ भनेको भए त घाटा लाग्ने रहेछ, किनकि कर त घटेको छ’ उनले भने।
उनका अनुसार रसुवा नाकाबाट आएका शतप्रतिशत गाडीको कर घटेको छ। ‘यहाँसम्म कि बीवाईडी अटो ब्रान्डको कर पनि घटेको छ। उसले जेठ १५ गतेपछि मात्रै भन्सार पास गराएको भए अझ बढी नाफा हुन्थ्यो’ उनले दाबी गरे।
वाग्लेले हरेक वर्ष बजेटका बेला भन्सार पास र कर निर्धारणको विषय विवादित बन्ने गरेको उल्लेख गर्दै करका दर तय हुने समय र भन्सार प्रक्रिया व्यवस्थापनबारे पुनर्विचार आवश्यक रहेको बताए। ‘करको दर जेठ १४ गते नै तय हुन्छ भने एक–दुई हप्ता भन्सार बन्द गर्ने कुरा पनि उठेको छ। त्यो जायज हुन सक्छ, किनकि किन सधैं विवाद सिर्जना गरिराख्ने?” उनले भने ‘यद्यपि त्यस्तो व्यवस्था व्यवहारिक नहुन सक्ने पनि सक्छ । विश्वभर नै विलासीता वस्तुमा कर बढ्ने नै हो ।’
उनले विलासी वस्तुमा कर सामान्यतः बढ्ने र घट्ने सम्भावना कम रहने उल्लेख गर्दै कर बढ्ने सूचना पहिले नै चुहाइएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरे। ‘कर बढ्दैछ भनेर सूचना दिएको प्रमाण ल्याउनुहोस्’ उनले चुनौती दिँदै भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्। अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु।’
बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छुः अर्थमन्त्री वाग्ले












