बिपी प्रतिष्ठानका बिरामीलाई निजी अस्पताल लैजाने आरोपमा १२ जना पक्राउ

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई विभिन्न बहाना बनाएर निजी स्वास्थ्य संस्थामा लैजाने प्रयास गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरूले बिरामी तथा उनका आफन्तलाई औषधि किनेर ल्याइदिने वा निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रभावमा पारेर निजी अस्पतालमा उपचार गराउन लैजाने प्रयास गर्दै आएको सूचनापछि निगरानी बढाइएको थियो।
पक्राउ पर्नेमा धरान–१८ का २७ वर्षीय निखिलकुमार चौधरी, सप्तरीको राजविराज–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक–८ का २५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ–३ का २९ वर्षीय सानिन किराँती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी–५ का ४० वर्षीय उपेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरज निरौला, इटहरी–२ का ३१ वर्षीय रोहित मेहता तथा धरान–११ का २८ वर्षीय विनोद भट्टराई रहेका छन्। प्रहरीले पक्राउ परेका अन्य दुई जनाको विवरण भने सार्वजनिक गरेको छैन।
प्रहरीले उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएको जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ।











