जेनजी आन्दोलनमा थलिएको दि ओरियन्टल इन्स्योरेन्समा रसुवा बाढीको १३ अर्बको बीमा दावी

काठमाडौं । दि ओरियन्टल इन्स्योरेन्समा कम्पनी दोस्रो पटक सबैभन्दा धेरै बीाम दावी परेको छ । भारतीय बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा यस पटकको रसुवा बाढीमा १३ अर्ब भन्दा बढि दावी परेको छ ।
गत जेनजी आन्दोलनमा सबैभन्दा धेरै पाँच अर्ब ४५ करोड ९३ लाख दावी परेको दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा यस पटक १३ अर्ब चार करोड २१ लाख २६ हजार रुपैयाँको प्रारम्भिक बीमा दावी परेको हो । उक्त दावीमा अझै रकम थप हुन वा घट्न सक्नेछ ।
भारतीय बीमा कम्पनीको शाखा कार्यालय भएकोले चुक्ता पुँजि नै नभएको र एक अर्ब ८८ करोड रुपैयाँको विशेष जगेडा कोष भएको बीमा कम्पनीमा यति ठूलो रकमको बीमा दावी परेको हो । वित्तीय विवरणको आधारमा कम्पनीले दावी तिर्न सक्ने अवस्था नभएपनि बीमाको पुनर्बीमा र रेट्रो गरिएको हुने भएकोले कूल दावीको निश्चित प्रतिशतसम्म मात्रै सो कम्पनीले तिर्नुपर्नेछ भने बाँकी रकम पुनर्बीमा कम्पनी नेपाल र विदेशबाट समेत आउनेछ ।

कूल दावीको झण्डै आधा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको देखिएको छ । यही साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुका बीचमा बीमा खोसाखोसको दौडमा क्यास ब्याक वा कुनै अफरमार्फत दि ओरियन्टल इन्स्योरेन्सले नेपाली बीमा कम्पनीहरुबाट खोसेर बीमा लगेको आशंका गरिएको छ ।
गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनमा ठूलो बीमा दावी परेको दि ओरियन्टलमा अहिले अर्को विपत्ति आइपरेको छ । ठूलो मात्रामा बीमा परेपछि कम्पनीका नेपालस्थित शाखा कार्यालयमाथि ठूलो मात्रामा आर्थिक दायित्व पर्ने देखिएको छ ।
कम्पनीका एक कर्मचारीले दि ओरियन्टल इन्स्योरेन्सको जोखिम वहनको हिस्सा अधिकतम ७ प्रतिशत जति मात्रै भएकोले जति नै बीमा दावी परेपछि खासै समस्या नहुने दावी गरेका छन् । यद्यपि कम्पनीले कम्तीमा पनि एक अर्ब भन्दा बढि बीमा दावी तिर्नुपर्ने सम्भावना रहेको प्रारम्भिक अनुमान गरिएको छ ।









