सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो आफ्नै ‘अल्फा प्लस सूर्यज्योति फण्ड’

१६ आश्विन २०८३, शुक्रबार १०:५१

काठमाडौँ ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ। कम्पनीले यस फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्र समेत प्राप्त गरेको जनाएको छ भने फण्डको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी फण्ड व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ।

नेपाली बीमा जगतमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहल पहिलोपटक भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार रु.५० करोड रुपैयाँ आकारको उक्त फण्ड मार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसरहरू सिर्जना गरिनेछ।

अल्फा प्लस सूर्यज्योति फण्डले उत्पादन तथा प्रशोधन, ऊर्जा तथा जलविद्युत्, वित्तीय तथा लगानी सेवा, ई–कमर्स तथा सूचना प्रविधि, पर्यटन तथा मनोरञ्जन, स्वास्थ्य तथा वेलनेस, रियल इस्टेट, पूर्वाधार विकास, कृषि, होटल तथा रेष्टुरेन्ट र खनिज उत्खनन तथा प्रशोधन लगायतका क्षेत्रमा लगानीका अवसरहरू पहिचान गर्नेछ। लगानी समिति तथा स्वीकृत लगानी नीतिअनुसार प्रचलित कानूनले निषेध नगरेका अन्य निजी क्षेत्रका सम्भावनायुक्त क्षेत्रमा समेत लगानी गर्न सकिने व्यवस्था रहेको छ।

५० करोड रुपैयाँको स्थापना गरिएको यस फण्डले सूर्यज्योति लाइफको लगानी पोर्टफोलियोलाई थप विस्तार गर्नुका साथै कम्पनीको दीर्घकालीन वित्तीय रणनीतिलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सूर्यज्योति लाइफले आफ्ना बीमित, अभिकर्ता तथा अन्य सरोकारवालाको हितलाई केन्द्रमा राख्दै दीर्घकालीन वित्तीय स्थायित्व, पारदर्शिता र जिम्मेवार लगानी अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ। ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ पनि सोही दिशामा अघि बढाइएको कम्पनीको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*