सुदूरपश्चिममा ७ लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमाको दायरामा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म प्रदेशका नौ जिल्लाबाट सात लाख ३२ हजार ७५२ जना स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका हुन्।
बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार स्वास्थ्य बिमामा आबद्ध हुनेमा कैलालीका नागरिक सबैभन्दा बढी छन्। कैलालीमा तीन लाख ६१ हजार ९७९ जना स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्।
त्यस्तै कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८, डोटीमा २७ हजार ८६२ र दार्चुलामा २३ हजार २०३ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन्।
नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा उपचारमा लाग्ने ठूलो खर्चको आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपालमा स्वास्थ्य बिमा कार्यक्रम विसं २०७२ चैत २५ गतेदेखि सञ्चालनमा आएको हो। कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न स्वास्थ्य बिमा ऐन, २०७४ तथा स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको हो।
संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। यस्तै, संविधानको धारा ५१(ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ। सोही संवैधानिक व्यवस्थाअनुसार स्वास्थ्य बिमा कार्यक्रम विस्तार हुँदै आएको छ।
स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन पाँच जनासम्मको एक परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ योगदान तिर्नुपर्ने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएमा थप प्रत्येक सदस्यका लागि वार्षिक सात सय रुपैयाँका दरले शुल्क लाग्छ।
हाल स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध सुविधाको थैलीलाई दुई गुणाले वृद्धि गरिएको छ। ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अतिविपन्न, अपांगता भएका व्यक्ति तथा कुष्ठरोग, एचआइभी र एमडीआर–टिबीका बिरामीका लागि भने निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ। यी समूहका व्यक्तिको बिमा प्रिमियम सरकारले नै व्यहोर्ने व्यवस्था छ।
त्यस्तै, संगठित क्षेत्रका सम्पूर्ण कर्मचारीलाई आम्दानीको एक प्रतिशत योगदान गर्ने गरी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य बिमामा आबद्ध परिवारले पाँच सदस्यसम्मका लागि एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएमा थप प्रत्येक सदस्यका लागि २० हजार रुपैयाँका दरले सुविधा थपिँदै अधिकतम दुई लाख रुपैयाँसम्मको उपचार सेवा लिन सकिने व्यवस्था छ।











