आर्थिक समृद्धि र राष्ट्रिय विकासका लागि सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य : चेम्बर अध्यक्ष अग्रवाल

२५ आश्विन २०८३, आईतवार १८:४०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन । सो अवसरमा उनले भने “नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्छ यसका लागी नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माण गर्ने अवसर उपलब्ध गराउन आवश्यक छ र विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने अवसर सिर्जना गरिनु पर्दछ” ।

अध्यक्ष अग्रवालले नेपाली संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, संस्कृति र मौलिकताको महत्वपूर्ण आधार भएको बताए। अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कलाकारको सिर्जनात्मक अधिकारको संरक्षण, उचित पारिश्रमिक र डिजिटल प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

अध्यक्ष अग्रवालले नेपाली लोकसंगीत, हिमाली तथा पहाडी क्षेत्रका मौलिक धुन, तराईका सांस्कृतिक भाका र आधुनिक नेपाली गीतले नेपालको विशिष्ट सांस्कृतिक पहिचान निर्माण गरेको उल्लेख गरे। सीमित स्रोतसाधनका बाबजुद नेपाली संगीतलाई डिजिटल प्लेटफर्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सफल अग्रज कलाकारहरूको योगदानको प्रशंसा गर्दै उनले नयाँ पुस्ताले त्यसलाई अझ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए।

अध्यक्ष अग्रवालले कलाकारहरू राष्ट्रका सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संगीतलाई सांस्कृतिक कूटनीति, पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने बताए। नेपाली संगीतको विश्व बजारमा विस्तारका लागि सरकार, निजी क्षेत्र, संगीत क्षेत्र, सञ्चारमाध्यम र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कलाकारको सम्मान ताली, पुरस्कार र प्रशंसामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उनले कलाकारको बौद्धिक सम्पत्तिको संरक्षण, प्रतिलिपि अधिकारको प्रभावकारी कार्यान्वयन, डिजिटल रोयल्टीमा पारदर्शिता र सिर्जनाको उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने बताए ।

डिजिटल प्रविधि, स्ट्रिमिङ प्लेटफर्म, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै संगीत क्षेत्रमा नयाँ अवसर र चुनौती थपिएको उल्लेख गर्दै अध्यक्ष अग्रवालले प्रविधिले कलाकारको सिर्जनात्मक क्षमता विस्तार गर्नुपर्ने, तर सिर्जनामाथिको अधिकार कमजोर पार्ने माध्यम बन्न नहुने धारणा व्यक्त गरे ।

उनले डिजिटल पाइरेसी, प्रतिलिपि अधिकार उल्लङ्घन र अनधिकृत रूपमा सामग्री प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न समयानुकूल कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको बताए । कलाकारले आफ्नो सिर्जनाबाट सम्मानजनक आम्दानी गर्न सक्ने वातावरण निर्माण गर्नु राज्य र सम्बन्धित क्षेत्रको साझा जिम्मेवारी भएको उनको भनाइ थियो ।

अग्रवालले नेपाली संगीत र पर्यटनबीचको सम्बन्धलाई समेत उजागर गर्दै मौलिक संगीतलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय गन्तव्यको प्रवद्र्धनसँग जोड्न सकिने बताए। यसबाट नेपाली संगीतको अन्तर्राष्ट्रिय बजार विस्तार हुनुका साथै पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने उनको धारणा थियो ।

दशैंजस्ता चाडपर्व नेपाली समाजमा पारिवारिक पुनर्मिलन, आत्मीयता र सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने अवसर भएको उल्लेख गर्दै उनले चाडपर्वमा गाउँघर र परिवारमा गुञ्जिने गीतसंगीतले मातृभूमिप्रतिको माया, सामाजिक सद्भाव र सांस्कृतिक स्मृतिलाई जीवन्त बनाउने बताए ।
समाजमा निराशा, असन्तुष्टि र विभाजनका स्वर सुनिन थालेका बेला कलाकारको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष अग्रवालले समाजमा आशा, विश्वास र सकारात्मक सन्देश प्रवाह गर्ने संगीतको आवश्यकता रहेको बताए । कलाकार समाजको ऐना मात्र नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने सशक्त माध्यमसमेत भएको उनको भनाइ थियो ।

उनले समृद्ध नेपाल निर्माणका लागि भौतिक पूर्वाधारसँगै कला, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवद्र्धनमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । नेपाली संगीतको मौलिकता कायम राख्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

अन्त्यमा अध्यक्ष अग्रवालले सम्पूर्ण नेपाली कलाकार, संगीतकर्मी तथा उनीहरूका परिवारजनमा बडादशैं, तिहारलगायतका चाडपर्वको शुभकामना व्यक्त गर्दै नेपाली संगीतको विकास, कलाकारको सम्मान र सिर्जनात्मक क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले विशिष्ठ अतिथिका रुपमा कार्यक्रमलाई संबोधन गर्दै नेपाली कला, संस्कृति, संगीत र चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता तथा राष्ट्रिय पहिचानलाई बलियो बनाउने बताए ।

राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वरिष्ठ उपाध्यक्ष मल्होत्राले कला, साहित्य र संगीत क्षेत्रको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवद्र्धनमा संगीतकर्मी, कलाकार, सञ्चारकर्मी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। नेपाली मौलिक संस्कृति र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सबै पक्षले संयुक्त रूपमा पहल गर्नुपर्ने उनको भनाइ थियो ।

मल्होत्राले देशको समग्र विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र राष्ट्रिय विकासका अभियानमा सबै एकजुट हुनुपर्ने बताए ।

उनले सरकारले कला, संस्कृति, संगीत तथा सिर्जनात्मक क्षेत्रलाई उचित प्राथमिकता दिँदै कलाकार र स्रष्टाको योगदानको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, संगीतकर्मी, स्रष्टा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै स्रष्टाहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष प्रकाश कटुवालको सभापतित्व तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*