चक्रवात ‘अर्णव’ को प्रभावले बिहीबारदेखि नेपालमा वर्षा र हिमपातको जोखिम

९ कार्तिक २०८३, सोमबार १६:३३

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’ को प्रभावले बिहीबारदेखि नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपातको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात थप शक्तिशाली बन्दै जाने र भारतको आन्ध्र प्रदेशस्थित यानम नजिकको तटीय क्षेत्रबाट अक्टोबर २८ अर्थात् कात्तिक ११ गते जमिनमा प्रवेश गर्ने सम्भावना छ। त्यसपछि यसको प्रभाव नेपालमा समेत पर्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा प्रभाव देखिन थाल्नेछ । विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ ।

कात्तिक १३ र १४ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेकालाई सम्भावित जोखिमको अवधिमा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । चक्रवातको प्रभावले चिसो बढ्न सक्ने, पहाडी सडक तथा सडकछेउका क्षेत्रमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*