नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार डंगौराले श्री मालिका माध्यमिक विद्यालय, चौमाला, कैलालीबाट एसएलसी उत्तीर्ण गरेको भन्दै नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र पेस गरेका थिए। ती प्रमाणपत्रका आधारमा उनले बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) पदमा नियुक्ति भई ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगले जनाएको छ।
शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै प्राप्त उजुरीमाथि अनुसन्धान गरेपछि आयोगले डंगौराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर गरेको अभियोग लगाएको हो। आयोगले सोही बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित सोमबार आरोपपत्र दायर गरेको जनाएको छ।











