सम्भावित विपद सामना गर्न सातै प्रदेशका स्वास्थ्य निकायलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने तथा जनस्वास्थ्यमा असर पर्न सक्ने भएकाले मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पूर्वतयारी र प्रतिकार्य क्षमता बलियो बनाउन पत्राचार गरेको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सम्भावित विपद्का बेला स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य उपकरण र एम्बुलेन्सको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्। विपद्बाट प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि उनले सम्बन्धित निकायलाई सक्रिय रहन आग्रह गरेकी छन्।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सम्पर्कमा रहने आपतकालीन सम्पर्क व्यक्ति तोक्न र उनको सम्पर्क विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
त्यस्तै हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली र आवश्यक स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न भनिएको छ। उपलब्ध औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गरी आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
एम्बुलेन्स सेवा छिटो र प्रभावकारी बनाउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्न तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना र अवस्थाको विवरण दैनिक रूपमा मन्त्रालयअन्तर्गतको इकाईमा पठाउनसमेत भनिएको छ।











