कोप–३१ मा नेपालको जलवायु विपद् उठाउन विशेष प्याभिलियन बनाइने, यूएनसँग सहयोग माग

काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका विपद्, त्यसबाट परेको प्रभाव र चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
यसका लागि आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा विशेष प्याभिलियन स्थापना गर्ने विषयमा संयुक्त राष्ट्रसंघसँग सहकार्य र सहयोगबारे छलफल भएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भएको बैठकमा नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद् र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
बैठकमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथा: माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै आगामी अक्टोबर २९, २०२६ मा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनमा उक्त एजेन्डा सार्वजनिक गरिने बताइन्।
कोप–३१ मा नेपालले भोटेकोशी बाढीलगायत जलवायुजन्य विपद्का अनुभव, प्रभाव र चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। त्यसका लागि स्थापना गरिने विशेष प्याभिलियन सञ्चालनमा आवश्यक खर्च व्यवस्थापन गर्न संयुक्त राष्ट्रसंघीय निकायको सहयोग अपेक्षा गरेको जनाएको छ।
जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायहरूको सहभागिता र सहयोग आवश्यक रहेको मन्त्री चौधरीले जोड दिइन्। यस विषयमा मन्त्रालयका सहसचिवले सम्बन्धित टोलीसँग समन्वय गरिसकेको जानकारी पनि बैठकमा दिइएको थियो।
बैठकमा कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेन–जी युवा तथा सञ्चारकर्मीको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सहयोगबारे पनि छलफल भएको छ।
नेपालका जलवायुजन्य विपद्का अनुभव र चुनौतीलाई विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय र नागरिक समाजबीच सहकार्य बढाउनुपर्नेमा बैठकले जोड दिएको छ।











