शेखर गोल्छाको हुलास फिनसर्भको आम्दानी डेढ अर्ब पुग्यो, कर्जा प्रवाह ५१% बढ्दा खराब ऋण घट्यो

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्बन्धित वित्तीय कम्पनी हुलास फिनसर्भको आम्दानी उल्लेख्य रूपमा बढेको छ । इक्रा नेपालको रेटिङ प्रतिवेदनअनुसार कम्पनीले सन् २०२६ मा एक अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको प्रारम्भिक अनुमान छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशत बढी हो ।
कम्पनीको आम्दानीमा पछिल्ला वर्षहरूमा निरन्तर सुधार देखिएको छ । सन् २०२२ मा ५२ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२३ मा घटेर ४८ करोडमा सीमित भएको थियो । त्यसपछि भने आम्दानीले पुनः गति लिएको देखिन्छ ।
सन् २०२४ मा कम्पनीको आम्दानी ५३ करोड रुपैयाँ पुगेको थियो भने सन् २०२५ मा बढेर ९५ करोड रुपैयाँ कायम भएको थियो । सन् २०२६ मा आइपुग्दा आम्दानी एक अर्ब ५० करोड रुपैयाँ पुगेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
हुलास फिनसर्भले हायर पर्चेज अर्थात् किस्ताबन्दीमा सम्पत्ति खरिद गर्न चाहने ग्राहकलाई कर्जा उपलब्ध गराउँदै आएको छ । किस्ताबन्दीमा सम्पत्ति खरिद गर्ने प्रक्रिया सहज हुँदै जानु र कम्पनीको कर्जा प्रवाह विस्तार हुनु आम्दानी वृद्धिका प्रमुख आधार देखिएका छन् ।
इक्रा नेपालको प्रतिवेदनअनुसार कम्पनीको कर्जा प्रवाह ५१ प्रतिशतले बढेको छ । यससँगै खराब कर्जाको अनुपातसमेत घटेको छ । सन् २०२२ मा ३.१ प्रतिशत रहेको खराब कर्जा घटेर १.७ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ । खराब कर्जा घट्नुले कम्पनीको वित्तीय अवस्था सुधार गर्न सहयोग पुगेको देखिन्छ ।
आम्दानीसँगै कम्पनीको नेटवर्थ पनि बढ्दै गएको छ । सन् २०२२ र २०२३ मा एक अर्ब १९ करोड रुपैयाँ रहेको नेटवर्थ सन् २०२४ मा बढेर एक अर्ब २४ करोड पुगेको थियो । सन् २०२५ मा एक अर्ब ४८ करोड रुपैयाँ पुगेको कम्पनीको नेटवर्थ सन् २०२६ मा बढेर एक अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
नेटवर्थ भनेको कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएपछि बाँकी रहने रकम हो । यसको वृद्धिले कम्पनीको वित्तीय आधार थप मजबुत हुँदै गएको संकेत गर्छ ।
स्वामित्वका हिसाबले हुलास फिनसर्भमा गोल्छा अर्गनाइजेसनअन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीको ८२ प्रतिशत सेयर छ भने बाँकी १८ प्रतिशत अन्य कम्पनीको स्वामित्वमा रहेको छ । कम्पनीका अध्यक्ष शेखर गोल्छाको व्यक्तिगत सेयर स्वामित्व पाँच प्रतिशत रहेको छ ।











