वाणिज्य बैंकहरूले तीन महिनामै शेयर कारोबारबाट कमाए ३ अर्ब ९२ करोड, १७ कम्पनीको बढ्दा २ को घट्यो

काठमाडौं । शेयर बजारको उतारचढावबीच वाणिज्य बैंकहरूको शेयर कारोबारबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले शेयर कारोबारबाट ३ अर्ब ९२ करोड ७६ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेका छन् ।
यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.५७ प्रतिशत अर्थात् १ अर्ब २८ करोड ४० लाख २७ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरूको यस्तो आम्दानी २ अर्ब ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा शेयर बजारमा उतारचढाव रहे पनि समग्रमा देखिएको सामान्य सुधारले बैंकहरूको नेट ट्रेडिङ इनकम बढाउन सहयोग गरेको देखिन्छ । बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको शेयर तथा धितोपत्र कारोबारबाट हुने आम्दानी बढेको छ । यस अवधिमा १७ बैंकको नेट ट्रेडिङ इनकममा वृद्धि भएको छ भने दुई बैंकको घटेको छ । कृषि विकास बैंकको भने यस्तो आम्दानी ऋणात्मक रहेको छ ।
शेयर कारोबारबाट सर्वाधिक आम्दानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ करोड २१ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २८ करोड ४२ लाख ६६ हजार रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष ४४.९९ प्रतिशतले बढेको हो ।
दोस्रो स्थानमा रहेको सानिमा बैंकले ३६ करोड ९ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ । बैंकको यस्तो आम्दानी गत वर्षको १६ करोड ८८ लाख ९७ हजार रुपैयाँबाट ११३.७० प्रतिशतले बढेको हो । त्यस्तै, नबिल बैंकले ३४ करोड ९५ लाख ५५ हजार रुपैयाँ आम्दानी गर्दै तेस्रो स्थान कायम गरेको छ । बैंकको यस्तो आम्दानी गत वर्षको तुलनामा ५५.३१ प्रतिशतले वृद्धि भएको छ ।
चौथो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले ३१ करोड २९ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ । बैंकको आम्दानी ६१.४४ प्रतिशतले बढेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले २९ करोड ४८ लाख ३२ हजार रुपैयाँ आम्दानी गर्दै पाँचौँ स्थानमा रहँदा यसको वृद्धि दर ५३.९६ प्रतिशत रहेको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले २८ करोड ४८ लाख ७३ हजार, कुमारी बैंकले २५ करोड ७१ लाख ८३ हजार र एभरेस्ट बैंकले २५ करोड १८ लाख ६० हजार रुपैयाँ आम्दानी गरेका छन् । यी बैंकहरूको यस्तो आम्दानी क्रमशः ३२.८७, ७५.६१ र ६८.४७ प्रतिशतले बढेको छ । एनएमबी बैंकले २० करोड ७० लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा २४.८५ प्रतिशतले बढी हो ।
हिमालयन बैंकले २० करोड ६४ लाख रुपैयाँ आम्दानी गर्दै ०.१४ प्रतिशतको सामान्य वृद्धि कायम गरेको छ । सिद्धार्थ बैंकको आम्दानी १०३.५७ प्रतिशतले बढेर १९ करोड ९५ लाख ९४ हजार रुपैयाँ पुगेको छ । प्रभु बैंकले १९ करोड ३३ लाख ३८ हजार रुपैयाँ आम्दानी गर्दा यसको वृद्धि दर ५०.२२ प्रतिशत रहेको छ ।
वृद्धिदरका आधारमा भने नेपाल बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५५ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १२ करोड ४४ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । यो २४९.९८ प्रतिशतको वृद्धि हो । त्यस्तै, माछापुच्छ्रे बैंकले १२ करोड ८ लाख २१ हजार र नेपाल एसबीआई बैंकले ११ करोड १४ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेका छन् । यी बैंकहरूको आम्दानी क्रमशः ५२.८८ र ८४.०५ प्रतिशतले बढेको छ ।
प्राइम बैंकले १० करोड ८६ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ भने सिटिजन्स बैंकको यस्तो आम्दानी ९ करोड ९० लाख १९ हजार रुपैयाँ रहेको छ । प्राइम बैंकको आम्दानी २५.९९ प्रतिशतले बढ्दा सिटिजन्स बैंकको भने १.०७ प्रतिशतले घटेको छ । एनआईसी एसिया बैंकले ५ करोड ६० लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा १५.९६ प्रतिशतले बढी हो ।
यता, राष्ट्रिय वाणिज्य बैंकको शेयर कारोबारबाट हुने आम्दानीमा भने ठूलो गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ६१ लाख ७६ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षमा घटेर ३ करोड ३८ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको आम्दानी ८५.०५ प्रतिशतले घटेको हो ।
कृषि विकास बैंकको भने समीक्षा अवधिमा पनि नेट ट्रेडिङ इनकम ऋणात्मक रहेको छ । गत वर्ष १६ करोड ५० लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षमा ५ करोड ७३ लाख ८४ हजार रुपैयाँ ऋणात्मक छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले एक वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आवमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउने व्यवस्था छ । यस्तो व्यवस्थाले लगानीको एक वर्ष पुरा भइसकेपछि बैंकहरुले पर्याप्त रकमको शेयर तथा अन्य लगानी बिक्री गर्न सक्नेछन् । यस्तो खालको व्यवस्थाअनुसार बैंकहरुले शेयरमा गरेको लगानीबाट हुने आम्दानी व्यालेन्स्ड सिटमा ‘नेट ट्रेडिङ इनकम’ सूचकमा देखाएका हुन्छन् । साथै बैंकहरुले विदेशी मुद्राको कारोबार विशेषगरी डलरको खरिद बिक्री गरी त्यसबाट हुने आम्दानी समेत यस्तो सूचकमा जोडेका हुन्छन् ।
तर बैंकहरुको डलर सटहीबाट हुने आम्दानी भन्दा शेयरमा गरिएको लगानी आम्दानी बढी हुने भएकाले यो सूचकलाई मुख्यतः शेयरमा गरिएको लगानीबाट हुने आम्दानी बुझ्न सकिन्छ ।











