काठमाडौंका दर्जनभन्दा बढी क्षेत्रमा वायु प्रदूषण अस्वस्थकर तहमा

काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकाको वायु गुणस्तर खस्किन थालेको छ । वर्षा कम हुनु, हावामा धुलोका कण बढ्नु तथा प्रदूषण नियन्त्रण प्रभावकारी हुन नसक्दा उपत्यकाका विभिन्न क्षेत्रमा वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको हो ।
स्विट्जरल्यान्डमा मुख्यालय रहेको वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौंको औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ पुगेको छ । बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो भने शुक्रबार बिहान सवा ९ बजेसम्म उक्त क्षेत्रमा १२७ मापन गरिएको छ ।
काठमाडौं महानगरपालिकाको वायु गुणस्तर अनुगमन प्रणालीले पनि उपत्यकाका विभिन्न स्थानमा प्रदूषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ । स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायत क्षेत्रमा हावाको गुणस्तर अस्वस्थकर तहमा रहेको छ । प्रदूषण बढ्दै गएपछि महानगरपालिकाले वातावरण दूषित बनाउने गतिविधि नगर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
मौसम सुक्खा हुँदा वर्षाको अभावमा हावामा रहेका धुलोका कण जमिनबाट उडेर वातावरणमा फैलिने गर्छन् । सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण कार्य तथा अन्य प्रदूषणका स्रोतले पनि वायुको गुणस्तर बिगार्न भूमिका खेल्ने गरेका छन् । मौसममा तत्काल सुधार नभए उपत्यकामा आगामी आइतबारसम्म वायु प्रदूषण अस्वस्थकर अवस्थामै रहने अनुमान गरिएको छ ।
वायु प्रदूषणमा विशेषगरी पीएम २.५ कणलाई स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ । २.५ माइक्रोमिटरभन्दा सानो व्यास भएका यी कण श्वासप्रश्वासका क्रममा फोक्सोको भित्री भागसम्म पुग्न सक्छन् र रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्छन् । यसको असरले श्वासप्रश्वास तथा मुटुसम्बन्धी समस्या बढाउन सक्ने चिकित्सकहरू बताउँछन् ।
वायु गुणस्तर सूचकांकमा पीएम २.५ को स्तर १०१ देखि १५० सम्म पुग्दा बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिका लागि जोखिम बढ्छ । त्यस्तै, १५१ देखि २०० सम्म पुगेमा प्रदूषणको असर सबै उमेर समूहका मानिसमा पर्न सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा पाँच माइक्रोग्राम र २४ घण्टाको औसत मात्रा १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ ।
काठमाडौंमा प्रदूषण बढिरहेका बेला भारतको राजधानी नयाँदिल्लीमा भने अवस्था अझ भयावह बनेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको एक्यूआई ४२२ पुगेको थियो । जवाहरलाल नेहरू स्टेडियम आसपास ४२१ र नजफगढमा ४१४ मापन हुँदा चाँदनी चोक क्षेत्रमा ३९१ रेकर्ड गरिएको थियो ।











