नेप्सेलाई पुनर्संरचना गर्दै प्रविधि र कारोबार प्रणाली सुधार्छाैंः नवनियुक्त सीईओ सुवेदी

२० कार्तिक २०८३, शुक्रबार १५:५२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले लगानीकर्ताको हित संरक्षण, संस्थागत सुशासन र प्रविधि सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले नेप्सेको पुनर्संरचना गर्दै विद्यमान बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना पनि अघि सारेका छन्।

सुवेदीका अनुसार नेप्सेमा ठूलो संख्यामा लगानीकर्ता जोडिएकाले उनीहरूको विश्वास कायम राख्न संस्थागत सुशासन बलियो हुन आवश्यक छ। लगानीकर्ताले आफ्नो लगानी सुरक्षित रहेको र संस्थाले उनीहरूको हित संरक्षण गरिरहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनु आफ्नो पहिलो प्राथमिकता रहने उनले बताए।

उनले नेप्सेको सूचना प्रविधि र सफ्टवेयर प्रणालीलाई थप स्तरीय, सुरक्षित र मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। अर्थ मन्त्रालयले तयार पारेको नेप्सेको पुनर्संरचनासम्बन्धी मार्गचित्रको अध्ययन गरेको उल्लेख गर्दै त्यसलाई आधार बनाएर सुधारका काम अघि बढाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै नेपालको पूँजी बजारमा नयाँ कारोबार प्रणाली र उपकरण थप गर्ने सम्भावनाबारे पनि उनले चासो देखाएका छन्। इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा साना तथा मझौला उद्यम (एसएमई) का लागि छुट्टै कारोबार प्लेटफर्म विकास गर्न सकिने विषयलाई उनले सम्भावित सुधारका रूपमा अघि सारेका छन्।

तर तत्कालै नेपालमा अर्को छुट्टै शेयर बजार आवश्यक नरहेको सुवेदीको धारणा छ। नयाँ बजार स्थापना गर्नुभन्दा नेप्सेकै क्षमता अभिवृद्धि गरी त्यसमा रहेका कमजोरी पहिचान र सुधार गर्न सके अहिलेको बजारको माग धान्न सकिने उनले बताएका छन्। उनले संस्थागत सुशासन कायम गर्दै प्रविधि र कारोबार प्रणालीमा सुधार गर्न सके पूँजी बजारलाई थप विश्वसनीय, पारदर्शी र प्रभावकारी बनाउन सकिने धारणा राखेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*