२१ प्रतिशत लाभांश घोषणा गरेको सर्वाेत्तम सिमेन्टको साधारणसभा आह्वान, बुक क्लोज कहिले?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले घोषणा गरेको उक्त लाभांशमा ६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको २४३औँ बैठकको निर्णयअनुसार आगामी पुस २ गते बिहीबार साधारण सभा आयोजना हुने भएको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङमा बिहान १० बजे सुरु हुनेछ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ रहेको छ। सोही चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। त्यस्तै ६ प्रतिशतका दरले हुन आउने ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारितका लागि प्रस्तुत गरिनेछ।
प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुनेछ। यसका लागि कम्पनीको अधिकृत पुँजी ६ अर्ब रुपैयाँ पुर्याउने र सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ।
त्यस्तै कम्पनीको सञ्चालक समितिमा पाँच जना सञ्चालक कायम गर्ने गरी नियमावली संशोधन गर्ने प्रस्तावसमेत रहेको छ। सञ्चालकहरूले पाउँदै आएको सञ्चार भत्ता, बैठक भत्ता तथा उपसमिति बैठक भत्तामा परिवर्तन गर्ने प्रस्ताव पनि सभाले टुंगो लगाउनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ। यसबाहेक कम्पनीका आधारभूत शेयरधनी वा सञ्चालकसँग सम्बन्धित संस्थाहरूसँग भएका कारोबार विवरण अनुमोदन गर्ने प्रस्तावसमेत कार्यसूचीमा समावेश छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ। त्यसैले मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।











