राष्ट्र बैंकको एक वर्षको कमाइ ४ खर्ब १० अर्ब, सरकारको खातामा गयो ४२ अर्ब

२ मंसिर २०८३, बुधबार १७:१९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा दोब्बरभन्दा बढीले बढेको हो ।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ खर्ब ७२ अर्ब रुपैयाँ थियो । यस वर्ष नाफामा आएको उल्लेख्य वृद्धिमा विदेशी मुद्रा सञ्चिति तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट भएको आम्दानीले मुख्य भूमिका खेलेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार समीक्षा अवधिमा विदेशी विनिमयको पुनर्मूल्याङ्कनबाट २ खर्ब ५४ अर्ब रुपैयाँ र सुन तथा चाँदीको मूल्य समायोजनबाट ७१ अर्ब ७१ करोड रुपैयाँ लाभ प्राप्त भएको छ । अघिल्लो वर्ष यी दुई शीर्षकबाट क्रमशः ४५ अर्ब ३ करोड र ४६ अर्ब ८८ करोड ६७ लाख रुपैयाँ आम्दानी भएको थियो ।

पुनर्मूल्याङ्कनबाट प्राप्त लाभलाई अलग राखेर हेर्दा राष्ट्र बैंकको नियमित खुद आयमा भने सामान्य वृद्धि देखिएको छ । यस्तो आय अघिल्लो वर्षको ८० अर्ब ४८ करोड रुपैयाँबाट ३.८४ प्रतिशतले बढेर ८३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले वृद्धि भई ९३ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । यसमध्ये खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले बढेर ९४ अर्ब ५६ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । विदेशी विनिमयको खरिदबिक्रीबाट भने बैंकले २ अर्ब १३ करोड रुपैयाँ घाटा बेहोरेको छ । अन्य आम्दानी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने कुल सञ्चालन खर्च १० अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

लेखापरीक्षण प्रक्रिया पूरा भएपछि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । कात्तिक ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले ऐन तथा प्रचलित व्यवस्थाअनुसार विभिन्न कोषमा रकम छुट्याएर बाँकी रकम सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले विदेशी विनिमयबाट भएको पुनर्मूल्याङ्कन लाभ विनिमय समीकरण कोषमा तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट प्राप्त रकम सुन तथा चाँदी समीकरण कोषमा जम्मा गरेको छ । यस्तै, खुला बजार कारोबार स्थिरीकरण कोषमा ३६ अर्ब ५० करोड रुपैयाँ र साधारण जगेडा कोषमा १३ अर्ब ५६ करोड रुपैयाँ छुट्याइएको छ ।

नाफामा भएको वृद्धिसँगै राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्वको आकार पनि विस्तार भएको छ । २०८३ असार मसान्तसम्म बैंकको वासलात ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा कुल इक्विटी ५४.०५ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको छ । सोही अवधिमा बैंकको जगेडा कोषमा १० खर्ब ३६ अर्ब रुपैयाँ रहेको प्रतिवेदनले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*