लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस शेयर दिने, मंसिर २५ गते साधारणसभा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले उक्त प्रस्ताव पारित गर्न आगामी मंसिर २५ गते शुक्रबार काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजे छब्बिसौं वार्षिक साधारणसभा बोलाएको छ।
बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको ३३३औं बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
बैंकले हालको चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ अर्ब ३३ करोड ९० लाख ५८ हजार १७३ रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६ प्रतिशतका दरले ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
प्रस्तावित बोनस शेयर जारी गर्न आवश्यकताअनुसार बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभामा छलफल गरी पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने जनाएको छ। त्यसअनुसार मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित बोनस शेयर र नगद लाभांश प्राप्त गर्न सक्नेछन्।











