३३ बीमा कम्पनीलाई चैत्र मसान्तभित्र आईटी अडिट सम्पन्न गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३३ वटा बीमा कम्पनीहरुलाई आफ्नो कम्पनीले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी अडिट गरी चैत्र मसान्तभित्र सोको विवरण बुझाउन निर्देशन जारी गरेको छ । सबै कम्पनीहरुले बुझाउनुपर्ने भएपनि हालसम्म ७ वटा मात्रै कम्पनीले आईटी अडिट सम्पन्न गरेका छन् । साईबर सुरक्षा सम्बन्धी आईटी अडिट ठूला कम्पनीहरुको लागि निकै महत्वपूर्ण हुने गर्दछ ।
बीमा समितिले सबै कम्पनीहरुलाई आईटी अडिटको विवरण यसअघि चैत्र १५ गतेभित्र बुझाउन निर्देशन दिएपनि अधिकांश बीमा कम्पनीहरुले समयमा सो सम्बन्धी विवरण बुझाउन नसकेपछि समितिले पुनः १५ दिन समय थप गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
बीमा समितिका अनुसार नेपालमा सञ्चालित पुनर्बीमा एक, जीवन बीमा १९ र निर्जिवन बीमा २० सहित कूल ४० बीमा कम्पनीहरु सञ्चालित छन् । तोकिएको अवधीमा जम्मा सात वटा मात्रै कम्पनीले आईटी अडिट विवरण बुझाएकोले पुनः म्याद थप गरिएको हो ।
बीमा समितिले २०७६ चैत ११ गते जारी गरेको सूचना प्रविधि मार्गदर्शन २०७६ मा पुस मसान्तभित्रमा अनिवार्य आइटी अडिट गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले कोरोना महामारीको कारण चैत १५ गतेसम्म समयावधि थप गरिए पनि आईटी अडिट हुन नसकेपछि पुनः म्याद गरेको हो ।













