सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्ने, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।












