भदौ १८ गतेदेखि अप्पर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर बिक्रि खुल्ला गर्दै

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले भदौ १८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।












