माथिल्लो मैलुङ खोलाको आईपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद पुनः थप गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब भदौ १७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले यस अघि आवेदन दिने म्याद थप गरी भदौ १ गते निष्काशन बन्द गर्ने व्यवस्था गरेको थियो। तर, निष्काशन अवधिमा आयोजना प्रभावित क्षेत्रहरुमा अविरल वर्षाका कारण बाढी पहिरो, भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता कारढाले गर्दा यातायात सञ्चालन अवरुद्ध भई तोकिएको संकलन केन्द्रमा दरखास्त फारम बुझाउन सहज नहुने विशेष परिस्थिति सृजना भएकोले आवेदन दिने मिति थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं। ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।












