‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ योजनाको शुभारम्भ, एक हजार छ सयमा तीन थरी स्वास्थ्य बीमा सुविधा

३१ चैत्र २०७७, मंगलवार १४:२७

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले यही बैशाख २ गतेदेखि औपचारिक रुपमा बिक्री गर्ने सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजनाको आज मंगलबार राजधानीमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सगरमाथा इन्स्योरेन्स कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रुपमा डिजिटल माध्यमबाट उक्त नयाँ बीमा योजनाको शुभारम्भ गरेका हुन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, सगरमाथा इन्स्योरेन्स कम्पनीका सञ्चालकको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ बीमा पोलिसीको औपचारिक रुपमा उद्घाटन गरिएको हो । बीमा समितिका अध्यक्ष सिलवाल र कम्पनीका अध्यक्ष मानन्धरले डिजिटल माध्यमबाट औपचारिक उद्घाटन गरेका छन् ।

स्वास्थ्य बीमा, घातक रोगको बीमा तथा दुर्घटना बीमा तीन वटा फरक फरक बीमा योजनाहरु एकै ठाउँमा समावेश गरेर सगरमाथा इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बिक्रीमा ल्याएको हो । यस्तो बीमा योजनाले सर्वसाधारणले थप सुविधा पाउने सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ श्रवण कुमार रावलले कार्यक्रममा जानकारी दिए । कमजोर स्वास्थ्य अवस्थाका कारण सिईओ चंकी क्षेत्र उपस्थित नभएको सो कार्यक्रममा एउटा बीमा पोलिसीले तीन थरी जोखिमको रक्षावरण गरेकाले नयाँ बीमा पोलिसी नेपाली बीमा क्षेत्रमा नयाँ प्रयोग भएको जानकारी दिइयो ।

अनलाईनबाट सजिलै बीमा गर्न सकिने नयाँ बीमा पोलिसी पूर्ण रुपमा डिजिटल माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दावी भुक्तानी समेत अनलाईनबाटै गर्न सकिने र बीमितको बैंक खातामा सिधैं रकमान्तर हुने व्यवस्था गरिएको सगरमाथा इन्स्योरेन्स कम्पनीले जनाएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीका अनुसार यस्तो बीमा योजना नेपालमा पहिलो र अन्तर्राष्ट्रियस्तरको सुविधासहित आजबाट शुभारम्भ गरिएको छ ।

सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजनामा सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य बीमा र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका घातक रोग बीमा बापतको शुल्क एक हजार ६०० रुपैयाँ तोकिएको छ । सोही अनुपातमा जोखिम बढे अनुसार बीमा शुल्क बृद्धि हुने कम्पनीले जनाएको छ । प्रविधिमैत्री नयाँ बीमा पोलिसी ठूलो अध्ययन र अनुसन्धान पश्चात मात्रै जारी गरिएको कम्पनीले जनाएको छ ।

दुर्घटना बीमा, स्वास्थ्य बीमा र घातक रोग बीमांक रकम बृद्धि गर्न सकिने सुविधा भएको नयाँ खालको बीमा पोलिसी भएको सो कम्पनी सचिव तथा डेपुटी म्यानेजर विश्वनाथ अधिकारीले जानकारी दिए ।

बीमितले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा गरियो भने एक वर्षमा तीन हजार रुपैयाँ मात्रै बीमा शुल्क भुक्तानी गरे पुग्नेछ । यस बाहेक बीमितले बीमाङ्क रकम फेरबदल गर्न पनि पाइने सुविधा रहेको छ । कम्पनीका अनुसार बीमा दाबी भुक्तानीको प्रकृयालाई पनि डिजिटल माध्यमबाटै हुने जनाएको छ । बीमितले आफु अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनुपर्नेछ । अस्पतालको बिल भर्पाइ वा रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र बुझाएर बीमा रकम दाबी गर्न सकिने डेपुटी सिईओ रावलले जानकारी दिए ।

उक्त नयाँ बीमा पोलिसीले घातक रोग अन्तर्गत १८ थरी रोगको उपचार बापत लाग्ने जोखिम बहन गर्नेछ भने ६ वर्षदेखि ६५ वर्ष उमेर समुहका व्यक्तिले घरैमा बसेर उक्त बीमा सुविधा लिन सक्नेछन् । सगरमाथा आरोग्य स्वास्थ्य बीमा पोलिसीमा अन्य स्वास्थ्य बीमा पोलिसीमा झै ३० दिनको प्रतिक्षा समय हुनेछ भने सो समय पछि मात्रै बीमा दावी गर्न पाइनेछ ।

आगामी २०७८ साल बैशाख २ गतेबाट देशैभरिका शाखा कार्यालय तथा सेवाग्राहीले अनलाईनबाट घरैमा बसेर उक्त बीमा पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । साथै सो बीमा पोलिसीको बीमा शुल्क भुक्तानी समेत अनलाईनकै माध्यमबाट गर्न सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*