हिमालय रि काण्ड बीमा समितिका लागि गलपासो, अध्यक्ष सिलवाल छानविनमा पर्दै

२१ श्रावण २०७८, बिहीबार २२:३८

काठमाडौं । कोरोना महामारीमा थर्मल गन तस्स्करी गर्ने कुख्यात गिरोहलाई हिमालयन रि नामको कम्पनी संस्थापना गर्न लगाई पुनर्बीमा कारोबारको अनुमति दिने कार्यमा तीन अर्बभन्दा बढि घोटाला भएको तथ्य बाहिरिएसँगै बीमा समितिका लागि भने गलपासो बन्दै गएको छ । भ्रष्टाचार सम्बन्धी छानविन गर्ने निकाय अख्तियारले चासो राखेको कारण अध्यक्ष सिलवालले सो काण्डमा कठघरामा उभिएर जवाफ दिनुपर्ने अब धेरै टाढा नरहेको उच्चस्तरीय स्रोतले जनाएको छ ।

बहुचर्चित र यसअघिको सरकारको अन्तिम समयमा गरिएको हालसम्मकै ठूलो भ्रष्टाचार काण्डको रुपमा हिमालयन रिलाई विभिन्न सञ्चार माध्यमहरुले चित्रित गर्न थालेसँगै हिमालयन रि काण्डमा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल छानविनमा पर्ने निश्चित भएको छ । समितिका अध्यक्ष छानविनमा पर्दा चुरीफुरी गर्दै गैरकानुनी कागजातमा हस्ताक्षर गर्ने केही कर्मचारीहरु समेत तानिने र यसले नियामक निकाय बीमा समिति नै कमजोर बन्ने हुँदा हिमालयन रि काण्ड बीमा समितिका लागि गलपासो बन्दै गएको छ ।

हिमालयन रि काण्डमा सेटिङ गर्ने अर्थमन्त्री विष्णु पौडेल सरकारबाट हटिसकेका छन् भने अर्थसचिव शिशिर ढुंगाना समेत अर्थमन्त्रालयबाट अन्यत्रै सरुवा भइसकेका छन् । बाँकी रहेका वित्तिय क्षेत्र समन्वय महाशाखाका प्रमुख दीर्घ मैनाली, बीमा समितिका सञ्चालक बन्न आएका आन्तरिक राजश्व विभागका प्रमुख झक्क प्रसाद आचार्यको टिम अब अर्थमा कमजोर बनिसकेका छन् । सेटिङकर्ता पाखा लागिसकेको अवस्थामा छानविन हुँदाका बखत समन्वय महाशाखाका मैनाली, बीमा समितिका सञ्चालक तथा अर्थमन्त्रालयका सहसचिव आचार्य तथा बीमा समितिका अध्यक्ष तथा पूर्व सचिव सिलवाल छानविनमा पर्ने निश्चित जस्तै बनिसकेको छ ।

पछिल्लो समय बीमा समितिमा हिमालयन रि काण्डको त्रास निकै बढेको बताइन्छ । हिमालय रि नामक कम्पनी दर्ता गर्दा भएको सेटिङमा पाइलैपिच्छे त्रुटीहरु भएका कारण पनि संलग्न दोषीहरु कुनै न कुनै दिन कानुनको फन्दामा पर्ने निश्चित छ । संस्थागत बद्नामी, कर्मचारी तथा अध्यक्षमाथि हुनसक्ने छानविनका कारण हिमालयन रि काण्ड बीमा समितिका लागि निकै ठूलो मूल्य चुकाउनु पर्ने गलपासो बन्दै गएको देखिएको छ ।

One thought on “हिमालय रि काण्ड बीमा समितिका लागि गलपासो, अध्यक्ष सिलवाल छानविनमा पर्दै

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*