जीत बहादुरको नासो

कल्पना पौडेल “जिज्ञासु”
२८ श्रावण २०७८, बिहीबार ००:०३

भारतको केरलामा कार्यरत जीत बहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो । गाउँको घर, थोरै मात्रै जग्गा जमिन, त्यसमा खेतीपाती गरेर जेनतेन मुख र मुठ्ठी जोड्ने काम चल्दै थियो । जीतबहादुरकी श्रीमती मैनाले तीन ओटा बाख्रा पालेकी थिईन् । छोरीहरु सानै थिए । बुढा भएका बुवा आमा र साना बाल बच्चालाई गोरसको लागि दएउटा दुहुनो भैंसी गोठमा थियो ।

आज लाहुरे आएको दिन घरमा छिमेकीहरु जम्मा भएका थिए । तीन बर्षपछि परिवार आफन्त र छिमेकीलाइ भेट्न पाउँदा जीतबहादुर असाध्यै खुशी थियो । छोरीहरु नयाँ लुगा लगाएर चकलेट खाँदै रमाउंदै, खेल्दै थिए ।

भारतमा हुँदा जीतबहादुरसँगै काम गर्ने गोपालमानको घर पनि त्यहीँ गाउँमा थियो । गोपालमानले केही सामान घर पठाएको हुँदा नासो छोड्न भन्दै जीतबहादुर माथिल्लो गाउँतिर लाग्यो । नयाँ बिहे गरेर आएकी अनितासँग भेट भयो । अनिताले गाउँको स्कुलमा पढाउने गर्थिन् । जीतबहादुरलाइ देख्न साथ अनुमान लगाइन यो लाउरे पक्कै मैनाको श्रीमान हुनुपर्छ भनेर । अनिताले उनीहरुको बच्चालाई पढाउँथिन् ।

अनिताः नमस्कार सर !
हजुर मैनाको श्रीमान है ? कता हिड्नु भएको ? आरामै आइपुग्नु भयो ?
जीतः हजुर म मैनाको श्रीमान हुँ ! राम्रै आइपुगे । तर मैले हजुरलाई चिन्न सकिन नि ?
अनिताः म अनिता थापा हजुरकी छोरीहरुलाई पढाउँछु । छोरीहरु अनि मैनाले हजुरको कुरा गरिरहन्थे अनि सोधकी ।
(एकछिन् कुराकानी गरि दुबै छुट्टिए ।)

जीतबहादुरले साथीको घर गएर नासो बुझायो र परिबारलाइ भेटेर आफ्नो घर फर्कियो ।

दिनहरु बित्दै गए । जीत बहादुरको फेरि भारत फर्किने बेला नजिकिँदै थियो । यता, तीन छोरी हुँदाहुँदै सामाजिक दवावमा छोरा जन्माउने चाहनाले मैना फेरि गर्भवती भई । पढेलेखेकी बुझेकी अनिताले धेरै सम्झाउने कोशिस गर्थिन् तर मैनाको सोच परिवर्तन गर्न सकिनन् । अनिता स्कुल पढाउने कामको अलावा जीवन बीमाको काम गर्थिन ।

चाडबाड सकिए, हिउँद लाग्यो, घरमा खर्चको जोहो गर्नुपर्ने दिन आउदै थियो । अन्ततः जीत बहादुर पुनः भारत जानुपर्ने भयो ।
आज जीतबहादुर भारत जागिरमा फर्किने दिन । गाउँलेहरु भेटघाट गर्न घरभरि जम्मा भएका थिए । कसैले आफ्ना छोरालाई पठाउन गुन्द्रुक र अचारको पोको लिएर आएका थिए । बाहिर सबैजना बसेर गफगाफ गर्दै थिए ।

यत्तिकैमा जीतबहादुरका बुढा बाउले दुखेसो पोखेः अब कहिले आउँछस् नि जितु ?

हामी डाडामाथिका घाम भैगयौं, कति बेला अस्ताउने हो थाहा हुदैन । फेरी भेट्न पाइने हो कि होइन ।

यति भन्दै सुक्क सुक्क रुन लागे ।

आमाले छोरालाई बाटोमा खानेकुरा बनाएर झोलामा राख्दै भनिन्ः बाबु केही खानेकुरा बाटोमा खानू, केही डिउटीबाट आउँदा भोकाएको बेला खाएस है ?

अब कहिले आउने होस् तँ आउँदा सम्म मरिन्छ कि बाबु । (आमाको पनि उस्तै कुरा)

आमाः चाडै फर्केस है …

मझेत्रोले आसुँ पुछ्दै आमा भित्र पसिन् ।

बिदावारी गरी जीतबहादुर भारततर्फ लाग्यो । अलि तल पुगेपछि शिक्षिका अनितालाई भेट्यो, केहीबेर कानेखुसी गरे । जीतबहादुरले झोलाबाट केही समान निकालेर अनितालाई दिँदै अघि बढ्यो । गोरखपुरको रेल भेट्न हतार भैसकेको थियो ।

सुनौलीमा पुगेर खाजा खायो । बाटो खर्चको लागि भारतीय पैसा साट्यो र गोरखपुरको बसमा चढ्यो । दुई तीन घन्टाको यात्रा पछी गोरखपुरको रेल स्टेसन पुग्यो । त्यहाँ अरु नेपालीहरुसँग भेट भयो । केरला जाने साथीसँगै टिकट काटेर रेलमा चढेर जीत बहादुर आफ्नो गाउँ छोडेर टाढाको यात्रा तय गर्दैछ ।

मनभरी परिवारको सम्झना आयो । यो लाहुरे जिन्दगी न परदेश लागेर टन्न पैसा कमाउन सकिने न परिवारसँग बसेर आँटो पिठो खान पुग्ने । घरिघरी आफैलाई धिक्काथ्र्यो । आफ्नो गरिवी प्रति । राज्यले देशका युवालाई स्वदेशमै रोजगार नदिँदा बिदेशिनु परेको ब्यथाले भरिएको र कुडिएर अमिलो भएको मन लिएर रेलको आवाजसँगै उसको यात्रा छोट्टिदै थियो ।

छकछक् छकछक् गदैै रेल आफ्नै गतिमा हुईँकिँदै थियो । जीतबहादुरलाइ कटक्क पेट काट्यो । शौचालयभित्र अर्को मानिस रहेछ । ढोका खुलेन । पालो पर्खिरहेको बेला झुक्किएर जीतबहादुर रेलबाट खस्यो । उसको घटनास्थलमै मृत्यु भयो ।

जीतबहादुर रेलबाट खसेको खवर अर्को स्टेसनमा पुगेपछि बल्लसँगै हिडेका साथीले थाहा पाए । घटनास्थल फोन गएर पुलिसले जानकारी गराए । नेपालीहरु मिलेर दाहसँस्कार गरे ।

यता घरमा पुरै परिवारको बोझ एक्लैले टाउकोमाथि बोकेर हिडेको व्यक्ति दुनियाँबाटै हरायो । केहीदिन पछि घरमा खवर आयो । बुढा भएका बुवा आमा स–साना छोरी गर्भवती स्वास्नीको बिजोग भयो । सबैजना रुन कराउन लागे गाउँलेहरु आए । सम्झाउने बुझाउने र लागे ।

आफै डाँडामाथिको घाम, छोराको काजकिरिया गर्नु पर्यो बुढेसकालमा पर्नु शोक पर्यो । जवान छोरो गयो म बुढो किन बाच्नु पर्यो भन्दै बुवा मुर्छा परे । बृद्ध शरीर अनि शोकमा छोराको काजकिरिया गर्नै नसक्ने अवस्थामा पुगे जीत बहादुरका बाबु अनि छिमेकीलाइ क्रिया गर्न लगाइयो ।

चौध दिनपछि साहुहरु ऋण उठाउन आए । जीतेले यति लगेको थियो भनि नभएको पैसा पनि माग्न थाले । बिचरा घर एक पैसा छैन के दिनु ? मौकाको फाइदा लुट्नेले कसैले भैसी फुकाउन लागे कसैले बाख्रा । घरमा बिचल्ली भयो बुवा थला परे । छोराको खवर सुनेदेखि बृद्ध बाबु आमा शिथिल बन्दै गइरहेका छन् । पतिको नासो यस पटक छोरा जन्माउने आशामा रहेकी मैना गर्भवती अवस्थामा शोकले भोक न प्यासको अवस्थाबाट जीवन गुजार्दै थिईन् ।

गाउँका मुखियाले घर खाली गर्देउ भन्दै थिए । मैना बिरामी हुँदा जग्गा धितो राखेको स्मरण गराए । गाउँलेले टुलुटुलु हेरिरहेका थिए । साहुको ऋण कसले तिर्न सक्छु भन्ने कोही थिएनन् । बिचरी मैना हतास, निराश र स्तब्ध थिईन् । बज्र उनको शिरमाथि बजारिएको थियो । गाउँले आउँथे, सान्त्वन्ना दिएर जान्थे, गर्ने, दिने कोही थिएनन् ।

महिनादिनको मासिक सकिएको थियो, मैना र बृद्ध आमा बुवा बसेर कुराकानी गर्दै थिए । अलि तलबाट जीत बहादुरको कुरा गर्दै तीनजना सुकिला मान्छेहरु घरतिरै सोझिएर आउँदै थिए । जीत बहादुरका बृद्ध बाबु आत्तिए, फेरि को के माग्न वा भन्न आएका हुन् भन्दै डराए ।

सबैभन्दा अगाडि शिक्षिका अनिता थिइन् । अर्का एक जना वडा अध्यक्ष र अर्का एक जना नचिनिएका पुरुष थिए ।
जीत बहादुरका बुवाले शिक्षिकलाई अघि लगाएर वडा अध्यक्ष आफै आएको देखेपछि नातिनीहरुले केही बिगारेका पो थिए कि ? वा छात्रवृत्ति दिन्छौं भन्दै आएछन् वा जीत बहादुरले अरु पनि ऋण लिएको थियो र उठाउन पो आएकी भन्दै अनुमान गर्दै बसे ।
पीडिमा बसेकी मैना मलिन भएर बसिरहेकी थिईन् । एकैछिनमा गाउँका अरु भद्रभलाद्मीहरुपनि भेला भए । आगनीको पुत्र बियोगमा परेका बुढा बा–आमा टोलाईरहेका थिए ।

अनिताले मैनालाई अँगालो हालिन् । सानो भेला नै भैसकेको थियो । अनिता एक जीवन बीमा कम्पनीकी अभिकर्ता थिईन् । उनले जीत बहादुर विदेशबाट आउने वित्तिकै छलफल गरेर ४० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गरी पहिलो किस्ता बुझाएर गएको बताईन् । बीमा बाँचेमा आफैले पाउने र कुनै कारणबश मृत्यु भएमा आफूमा आश्रित परिवारले पाउने लाभ भएकोले सोही जोखिम बापतको दावी भुक्तानीको लागि आफूहरु आएको जानकारी गराइन् । अनिताले झोलाबाट एउटा फाइल निकालिन् । मैनालाई हस्ताक्षर गर्न लगाईन् । वडाध्यक्षको हातबाट मैनालाई चालिस लाखाको चेक हस्तान्तरण गरियो ।

अध्यक्षले छोटो मन्तब्यमा भनेः जीतबहादुरजीले अनिता म्याडम मार्फत जीवन बीमा गर्नु भएको थियो । दुर्घटनाबाट उहाँको दुखद निधन भैसकेको हुनाले उहाँलाई हामीले पाउन नसकेपनि उहाँले परिवारप्रति छोडेको यो जिम्मेवारी हो । यो रकम हजुरको परिवारको पीडामा मलहम बन्न सकोस् । जीतबहादुरप्रति हाम्रो श्रद्धा छ ।

मैनाले लामो सास फेरिन्, पेटमा हुर्कदै गएको जीत बहादुरको गर्भ अनि उनले छोडेर गएको नासो सम्झिन् । उनका लागि सबै सपना जस्तो लाग्यो । मैनालाई समुहबाट ऋण काडेर जबर्जस्ती नौगेडी र झुम्का किन्दिन बाध्य पारेको याद आयो । गहनाकै लागि कति झगडा गरको स्मरण समेत गरिन् ।

जीतबहादुरले गाउँले साथी गोपालमानसंग पैसा सरसापट गरेको कुरा अनिताबाट थाहा भयो ।

सो भेलामा मैनालाई केही बोल्न मन लाग्योः मैले मेरो राजालाई किन बुझ्न सकिन ? कहाँ जानुभयो मेरो प्रिय ? आफु जाँदा जाँदै हाम्रो लागि यति ठुलो महान् काम गरेर छोड्नु भएको रैछ बल्ल मेरो होस् खुल्यो बुद्धी पस्यो तर के गर्नु मैले हजुरलाई गुमाई सके । उनी छाति पिटी पिटी रुन थालिन् ।

यदि आज यो पैसा आउने थिएन भने हाम्रो घर बास उजाडिने थियो । म कहाँ जान्थे होला ? बृद्ध अवस्थाका सासु ससुरा र यिनी लालाबाला कहाँ लैजान्थे होला । जिन्दगीको केही भरोषा नहुँदो रैछ । भोलि म पनि रहिन भने यो परिवारको मेरा लालाबालाको अबस्था के होला ?

एकैछिनमा शरीरमा भएका सबै गहना फुकालेर एउटा मुट्ठीमा राख्दै हात उचाल्दै भनिन्ः

अब मैले यी गहना लगाउँदिनँ । यी गरगहना र मेरो श्रीमानको नासो यो पेटको बच्चा जन्मिएपछि यिनै गहना बेचेर सन्तानको नाममा बीमा गरिदिन्छु । बार्षिक रुपमा किस्ता तिर्न नसकँुला त्यसैले ऋण तिरेर बचेको पैसा सबै बच्चाको नाममा फिक्स बीमा जम्मा गरिदिने बाचा गर्छु । गाउँले सबै स्तब्ध भए । बीमाको महत्व केहीहदसम्म बुझे ।

अनिताको काखमा घोप्टो परेर रोइरहिन् ।

समाप्त ।

-गैडाकोट नवलपुर, हाल खजुरा बाँके

4 thoughts on “जीत बहादुरको नासो

  1. shankar asant says:

    अलिकति समय छुट्याएर ‘जीतबहादुरको नासो’कथा पढुम् । गुनासो गर्ने ठाम् रहने छैन । सामाजिक बिषयबस्तुमा कथाकार कल्पना पौडेल ‘जिज्ञासु’ को कलमको जादू हेर्नुस् त

    1. कल्पना पौडेल 'जिज्ञासु ' says:

      नमस्कार बन्धु कोइराला जी आरामै हुनुहुन्छ नि ? यति धेरै मिठो हौसला पूर्ण प्रतिकृयाको लागि हार्दिक आभारीछु | यो हौसलाले मलाई साहित्य लेखनमा थप उर्जा थपिनेछ मुरीमुरी धन्यवाद यहाँलाइ |

    2. कल्पना पौडेल 'जिज्ञासु ' says:

      नमस्कार शंकर जी आरामै हुनुहुन्छ नि ? यो साथ हौसलाको लागि सदैव आभारी रहनेछु | धन्यवाद हजुरलाई |

  2. बन्धु कोइराला, झापा says:

    साँच्चै कति मर्मस्पर्शी लेख रहेछ । साहित्यमा कलम चलाउने गर्नु भएको रहेछ । कथा साहित्यिक, मन छुने खालको पाए । मैले पुरै पढे, यथार्थ जीवनसँग मेल खालको रचना गर्नु भएको रहेछ । सारै खुशी लाग्यो । म पूर्वको भएर होला भाषा चाही पश्चिमको जस्तो लवच आएको छ । पश्चिम क्षेत्रकै कथा भएकोले त्यस्तो आउनु स्वाभाविक नै पनि हो । जीवन बीमाबारे जनचेतना जगाउन यस्ता लेखरचनाहरु, साहित्य सिर्जनाहरु धेरै नै रचना गर्नु जरुरी छ । आगामी दिनमा कल्पना पौडेल जिज्ञाशु ज्युको लेख रचनाहरु पढ्न, शेयर गर्न पाइयोस् । सफलताको शुभकामना ।

यसमा तपाइको मत

Your email address will not be published.


*