बीमा जगतमा उदय हुदै गरेका भष्मासुरका विरुद्धमा गोलबद्ध होऔं

सृष्टि अधिकारी
१६ मंसिर २०७८, बिहीबार ११:२०

सृष्टि अधिकारी

भनिन्छ, कसैको जन्मनुको उद्देश्य र कारणहरु हुन्छन् । कुनै पनि प्राणी जन्मेपछि आफ्नो बंशीय स्वभाव अनुसार प्रतिक्रिया जनाउन थाल्छन् । जस्तो कि भैंसी व्याएपछि जन्मेको बच्चा ह्वाई… ह्वाई…गरेर कराउँछ । गाई व्याएपछि उसका बाच्छाबाच्छी ब्वाँ … ब्वाँ… गर्छन् । बाख्रा व्याएपछि उसका पाठापाठी म्याआ… म्याआ.. गरेर कराउंछन्, मान्छे जन्मेपछि बच्चा पनि त्यसैगरी रुन थाल्छ ।

सन्दर्भ अहिलेको बीमा समितिको नेतृत्वको हो । बीमा क्षेत्रमा लामो अनुभव भएका र भिजेका व्यक्तिहरुलाई पाखा लगाउंदै ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले गत माघ १९ गते शाही कू कै साइत पारेर कसैले नचिताएको र बीमा क्षेत्रसँग कहिं कतै साइनो नभएका नेपाल सरकारका पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई बीमा समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । बीमा ऐनमा समेत ‘बीमा व्यवसायमा विशेष ज्ञान भएको’ व्यक्तिलाई बीमा समितिको अध्यक्ष नियुक्त गर्नुपर्ने व्यबस्था छ । सायद, विष्णु पौडेललाई थाहा थियो होला, बीमा क्षेत्रमा अनुभव भएको मान्छेले यस क्षेत्रको माया गर्छ र यसलाई हत्तपत्त बिगार्ने आँट गर्दैन । राणाकालमा जनताको आवाज उठाउनेहरुलाई मृत्युदण्ड दिंदा केही कसाईहरुले समेत शहिदहरूलाई गोली ठोक्ने आँट गर्न सकेका थिएनन् रे । कठोर मुटु भएको जल्लादले उनीहरुलाई गोली हानेको थियो । यहि सम्झेर बीमा क्षेत्रको मर्म नबुझेको, ज्ञान नभएको, यसको बाध्यता, क्षमता र आवश्यकता नबुझेको मान्छेलाई उनले कुनै जस्केलाबाट फुत्त निकालेर बीमा समितिमा ल्याएर बसाए ।

सूर्य प्रसाद सिलवाललाई बीमा समितिको अध्यक्ष बनाएपछि उनले आफ्नो जन्म र स्वभाव अनुसार भटाभट काम गर्न शुरु गरे । सबैलाई थाहा छ, नेपाल पुनर्बीमा कम्पनीलाई सौता हाल्न नयाँ खेलहरु शुरु भयो । यस खेलमा बिगत लामो समयदेखि बीमा क्षेत्रमा काम गरेका, कम्पनी दर्ता गरेका र अघोषित कार्यालय नै खोलेर तयारी स्वरुप प्रिअपरेटिङ्ग कष्टमा करोडौं खर्च गरिसकेका बिभिन्न कम्पनीहरु हातमा मेहेन्दी लगाएर बरमाला लगाउन तम्तयार अवस्थामा थिए । कतिले त लगानीको जोहो गरेका, चाहिएको चुक्ता पूँजिको कमिटमेन्ट लिइसकेका थिए । यस्तो अबस्थामा कोरोना महामारीको कारण लागु गरिएको दोश्रो चरणको लकडाउन शुरु हुनासाथ सबै घरमा थुनिएको बेला अध्यक्ष सिलवालले २०७६८ बैशाख १६ गते पुनर्बीमा कम्पनी खोल्नका लागि आवेदन दिन फरमान जारी गरे । कतिले त कागजात बटुल्न समय समेत पाएनन् । २०७८ जेठ ५ गतेको समाचार अनुसार त्यसबेला आवेदन दिनेमा पहिला निकै चर्चामा रहेका अन्नपुर्णा, काठमाडौं, प्रुडेन्सियल रहेका थिए र अर्को नामै नसुनेको हिमालयन पनि थपिएको थियो । अन्तमा सबैलाई चकित पार्दै सिलवालले अरुलाई लोप्पा ख्वाउंदै हिमालयनलाई लाइसेन्स दिए । यसमा अर्बाैंको भ्रष्टाचार भएको समाचारहरु बाहिर आयो र अख्तियारमा उजुरी समेत पर्न गयो । तर भ्रष्टाचारलाई सुशासन, लूट मचउने, देशलाई भड्खालोमा हाल्ने, कृत्सित अभिप्राय भएका आर्थिक अपराधलाई पुरुषार्थ ठान्नेहरुको शासनमा यस्ता बिषयहरु ओझेलमा परे ।

सिलवाललाई भेट्ने मान्छेहरु उनको स्वभावको बारेमा खुव चर्चा गर्ने गर्छन् । उनी आफुलाई बीमाको बारेमा केहि थाहा नभएको तर यसलाई सुधार वा आमूल परिवर्तन गर्ने गफ लगाउँछन् । बीमा कम्पनीका सबैलाई हप्काउँछन्, दपेट्छन् । जब उनी मञ्चमा पुगेर बोल्न थाल्छन्, आजसम्म गाली मात्रै गरेका छन् । उनको आमूल परिवर्तन र सुधारका क्रमबद्ध निर्णयहरु उनी जन्मेकै दिनदेखि शुरु गरेका छन् । यसको पछिल्लो कडीको रुपमा नेपाली बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीमार्फत नै सबै पुनर्बीमा गर्नुपर्ने निर्णय गरेर पुनः चर्चामा छन् । नेपालमा पुनर्बीमा कम्पनी खोलेको पाँच वर्ष बढि भयो, यो पाँच बर्षको बीचमा सरकार समेतको लगानीमा खोलिएको पुनर्बीमा कम्पनीलाई माथि उठाउने काम गरिएन । बरु सिलवालले अरबौंको बिटो बोकेर उनैले जन्माएको ज्वाई कम्पनी हिमालयन रि को न्वारान हुनासाथ उसलाई हुर्काउन बढाउनको लागि नेपालको बीमा क्षेत्रलाई नै बली चढाउन कम्मर कसेर लागेका छन् । निश्चय नै एउटा बघिनीले आफ्ना बच्चा हुर्काउन एकदुईवटा मृगको शिकार गर्छे, तर नेपाली बीमा क्षेत्रका भष्मासुरका रुपमा उदय हुँदै गरेका सूर्य सिलवालले पूरै मृगको बंश नै मासेर उनको नयां कम्पनीलाई पोस्नको लागि पूरै बीमा क्षेत्रको बली चढाउने कुकृत्य गर्ने दुस्साहस गरेका छन् । दुखको कुरा उनीबाट पीडित मृगहरु अहिले मुख खोलेर बोल्ने हिम्मत समेत गरेका छैनन् । साहाराको खोजीमा यत्रतत्र भौतारिरहेका छन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल

नयाँ कम्पनी हुर्काउन सिलवालले तर्क दिने गरेका छन्, नेपालबाट बिदेशी मुद्रा बाहिरियो । उनको फट्याई पनि उदेकलाग्दो छ । के नेपाली कम्पनीहरुले बिदेशी पुनर्बीमा कम्पनीलाई सित्तैमा पैसा पठाएका छन् ? पुनर्बीमा भनेको पैसा पठाउने मात्रै हो ? दावी भुक्तानीको बखत गरिने जोखिमको हस्तान्तरण होइन र ? अहिलेसम्म बीमा समितिले बीमाबारे जानेको बिषय यहि पैसा बाहिरिने मात्रै हो ? दावी परेको समयमा त्यसको रकम पनि त्योभन्दा कैयन् गुणा बढि उताबाट विदेशी मुद्रा नै नेपाल आउंछ भन्ने थाहा छैन ? भुकम्पको बेला त्यसको अरबौंको दावी कसले तिरेको थियो ? नेपालमा अहिले हाइड्रो, निर्माण, उद्योग लगायतका क्षेत्रमा भएको अरबौंको क्षतिको दावी भुक्तानी कसले गरिरहेको छ ? जहाजहरु दुर्घटना हुंदा त्यसको अरबौंको दावी कसले तिरेको छ ? हरेक कम्पनीको व्यालेन्स सिटमा कूल दावी भुक्तानी र खुद दावी भुक्तानीको आंकडा हेरेमा यो प्रष्ट हुन्न ? कम्पनीहरुको व्यालेन्स सिटमा पुनर्बीमा बापतको कमिशनले कति मुनाफा दिएको छ ?

अर्को कुरा, संसारमै नभएको कारोना बीमाको चिट्ठा बांड्दा पुनर्बीमा व्यबस्था नभएको कारण अहिले कस्तो समस्या परिरहेको छ ? पहिलेका अर्थमन्त्री खतिवडाको सनकमा लागु गरिएको कोरोना बीमाको कारण अहिले कम्पनीहरुको व्यालेन्ससिट माइनसमा जाने देखिएको छ । नेपाल पुनर्बीमा कम्पनीले अरबौं रकम तिरेको छ, बीमा कम्पनीहरु प्रत्येकले आफ्नो भागमा परेको भन्दा १०–१२ करोड बढि रकम भुक्तानी गरिसकेका छन् र स्वयं बीमा समितिको कोष समेत स्वाहा भएको छ । यसरी बिदेशी पुनर्बीमाको सपोर्ट नहुंदा के अबस्था हुने रहेछ भन्ने कुरा बीमा क्षेत्र सिध्याउने मिशनमा रहेका सिलवाललाई मतलब नभएपनि कमसेकम त्यो संस्थाका कर्मचारी, संचालक समिति, अहिलेको मन्त्रालयलाई जानकारी हुनुपर्ने होइन ? बीमा समितिका उच्च अधिकारीको यस्ता विषयमा चेतना कहिले खुल्ने ?

ओलीको अध्यारो कोठाबाट बीमा समितिमा पठाइएका सिलवाल अहिले निरन्तर यो बीमा क्षेत्र तहसनहस पार्ने काममा निरन्तर डटेर लागेका छन्, तर तालुकदार मन्त्रालय र हक्की भनेर चिनिने अर्थमन्त्री अहिले चुप लागेर बसेका छन् । उनलाई पनि अल्पज्ञान होला, ए, नेपालको बिदेशी मुद्रा बाहिर पठाउनबाट रोक्ने काम त खुब राम्रो हो । सिलवालको मयुर नाच हरेर मख्ख परेका अर्थमन्त्रीलाई कसले भनिदिने, त्यो मयुरको प्वाँखभित्र मानिस छ भनेर । बीमा एक अन्तर्राष्ट्रिय व्यापार हो । त्यसो भए गाडी, कपडा, मोबाइल, चामल किन्न बिदेशी मुद्रा किन खर्च गर्ने ? गाडी बनाउन ग्वार्खोको ग्यारेजलाई दिउँ, मोबाइल बनाउन न्युरोडको एउटा मोबाइल पसललाई जिम्मा दिउँ, कपडा बनाउन बागबजारको एउटा टेलरलाई जिम्मा दिउँ, चामल उत्पादन गर्न सुनाकोठीको एउटा मिललाई जिम्मा दिउँ । यति गरेपछि त नेपाल मोटर, मोबाइल, कपडा, धानमा आत्मनिर्भर होला भनेर भन्न सकिन्छ । तर, व्यवहारमा सम्भव छ ?

सिलवालले पोसेको हिमालयन रिले नेपालको बीमा क्षेत्रको जिम्मा लिनु र न्युरोडको मोबाइल पसलले मोबाइल उत्पादन गरेर देशमा सामसुङ, आइफोनको आयात रोकेर बिदेशी मुद्रा जोगाउनु उस्तै चमत्कार होइन र ?

समग्रमा भन्नुपर्दा बीमा समितिमा अहिले अध्यक्ष पदमा रहेका सिलवाल स्पष्ट रुपमा एउटा कम्पनीको मार्केटिङ्ग एजेण्टको रुपमा काम गरिरहेका छन् । यस्तो एउटा अमूक कम्पनीको वित्तीय स्वार्थ रहेको व्यक्ति र उनका कथित निर्णयहरु, जुन लागु भएका नेपालको जोखिम क्षेत्र भयावह हुने र बीमा कम्पनीहरु टाट पल्टने निश्चित छ । उनका पटक–पटकका हर्कत हेर्दा बीमा क्षेत्रलाई उनको आक्रमणबाट जोगाउन उनलाई त्यहांबाट जतिसक्दो चाँडो हटाएर बीमा क्षेत्र बुझेको स्वच्छ चरित्रको व्यक्ति तुरुन्तै ल्याउनु जरुरी छ । बीमा क्षेत्र पनि आफ्नो भविष्यको लागि निर्णायक रुपमा मैदानमा उत्रन र केहि दिनको लागि भएपनि सेवा बन्द गरी सिगो बीमा जगतको स्थायित्व, समृद्धि र सुनिश्चित भविष्यका लागि सबै बीमा कम्पनीहरु आन्दोलनमा उत्रिनु पर्दछ । अन्यथा धेरै ढिला भएमा बीमा क्षेत्रको भष्मासुरका रुपमा उदय हुँदै गरेका सिलवालले बीमा क्षेत्रमा सल्काएको क्यान्सरले निर्जिवन र जीवन बीमा दुवै क्षेत्र तहस नहस हुनेछ । (लेखक बीमा क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।)

 

One thought on “बीमा जगतमा उदय हुदै गरेका भष्मासुरका विरुद्धमा गोलबद्ध होऔं

  1. Nispaksha says:

    Balla ramro adhyaksha paeko cha beema samiti le….ramro kaam garne manche lai private beema company dwara poshit patrukar le yesari nai khedo garchan ……..surya prasad silwal jasta aaru manche chahinchan

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*