सन्दर्भ : ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- बराबरी भविष्यको लडाइँमा महिला

खेम थपलिया
२४ फाल्गुन २०७८, मंगलवार १२:२०

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१ को सन्दर्भमा प्रमुख नारा दिइएको थियो– ‘नेतृत्वमा महिलाहरू : कोभिड १९ को विश्वमा बराबरी भविष्यको प्राप्ति ।’ यसपालि अर्थात् सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा Gender equality today for a sustainable tomorrow ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगाे विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । झन् ‘दिगो भविष्यका लागि लैंगिक समानता’ को कुरा कता हो कता ? प्रस्तुत नारा मीठा छन्, महिलालाई विश्वमा बराबरी हैसियत प्राप्ति निकै महत्त्वपूर्ण कुरा पनि हो तर के यो कुरा समकालीन विश्व पुँजीवादी संसदीय राजनीतिक व्यवस्थाबाट सम्भव छ त ? यो अहम् महत्त्वको प्रश्न हो । पुँजीवादद्वारा मीठा–मीठा नारा दिएर नमीठा–नमीठा व्यवहार आम महिला जगत्ले भोग्दै आएका छन् । विभिन्न देशले प्रत्याभूत गरेका संवैधानिक अधिकारको समेत कार्यान्वयन हुन नसकिरहेको सन्दर्भमा कोभिड १९ विरुद्धको लडाइँमा महिलालाई पुरुषको तुलनामा १० प्रतिशत मात्र कम सुविधा उपलब्ध गराइएको तथ्यले यो क्षेत्रको भयानक असमानतालाई झल्काउँदै र ! राष्ट्रसङ्घका महासचिवको प्रतिवेदनअनुसार विश्वका २२ देशमा महिलाहरू राष्ट्र तथा सरकार प्रमुख रहेका छन् । विश्वभरि संसदीय व्यवस्था रहेका देशहरूमा २५ प्रतिशतभन्दा कम महिला सांसद् रहेका छन् । यही दर कायम रहिरहे सांसद् लैङ्गिक समानताका लागि १३० वर्ष लाग्नेछ । यो कुरालाई संसदीय फाँटमा क्रियाशील महिलाहरूले विशेष मनन गर्न आवश्यक छ । लैङ्गिक समानताको अन्य कुरा त झन् कता हो कता ?

नाम र नारा आ–आफ्नै दिए पनि सारतः न्याय, समानता र वैज्ञानिक राज्यप्रणालीका पक्षमा विश्वभर विभिन्न तवरबाट महिलाहरूले निरन्तर विद्रोह र प्रतिरोध गर्दै आएका छन् । मेक्सिकोमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको भोलिपल्ट मेक्सिकन महिलाहरूले अत्यावश्यक घरायसी कामसमेत बन्द गरिदिएका थिए । पारिवारिक तथा सामाजिक विभेदविरुद्धको यो विद्रोह विशेष अर्थपूर्ण रहेको छ । शेली लुन्डवर्गको सम्पादनमा महिला–पुरुष असमानतामा आधारित एउटा पुस्तक प्रकाशित भएको छ, ‘विमेन इन इकोनोमिक्स ।’ अमेरिका र युरोपमा क्रमशः १३ र २२ प्रतिशत महिला प्राध्यापक छन् । विश्वमा दुई दशकयता अर्थशास्त्र अध्ययनकर्ता महिला ३० प्रतिशत पनि छैनन् भने महिला लेखक झन् अत्यन्त न्युन छन् । यी एकाध विश्व तथ्याङ्कबाट नेपाली महिलाहरूको अवस्थाको सजिलै आँकलन गर्न सकिन्छ । आज विश्वभर समृद्धिको जति नारा दिए पनि खास समृद्धिमा समानता भएन भने त्यसले कुनै अर्थ हुँदैन । यसबाट स्पष्ट हुन्छ कि महिलाहरूले तमाम तगारा हटाउन निकै लामो र भीषण लडाइँ अनिवार्य छ ।

विषय विस्तार
विश्वव्यापी रूपमा धेरै विश्लेषकहरूले महिलाका विषयमा बोलेका–लेखेका भए पनि यथार्थतः त्यसमा गम्भीरता कम रहेको पाइन्छ । पुँजीवादी आन्तरिक झडपले महिलाहरूले अनेक मार खेप्दै आउनुपरेको छ । वास्तविक अर्थमा महिलाहरू शान्ति चाहन्छन् तर परिस्थिति त्यस्तो छैन । क्लारा जेट्किनले पुँजीवादी देशहरूको आपसी झगडाका कारण भड्किएको प्रथम विश्वयुद्धताका सो युद्ध मजदुर तथा महिलावर्गका लागि हितकर नभएको र नितान्त पुँजीजीवीवर्गको स्वार्थको झगडा भएको बताएकी थिइन् । बोल्सेभिक पार्टीको नेतृत्वमा सम्पन्न सोभियत समाजवादी अक्टोबर क्रान्ति महिलामुक्तिको क्रान्ति पनि थियो । लेनिन महिलाहरूको समस्याबारे नियमित विमर्श गर्नुहुन्थ्यो । कम्युनिस्टहरूका लागि महिलाहरूको सामाजिक समानता सैद्धान्तिक तथा निर्विवाद कुरा हुन् । महिला विषयक विमर्शको सन्दर्भमा जेट्किनसित कुरा गर्दै लेनिनले भन्नुभएको थियो, “हामीले स्पष्ट तथा निश्चित सैद्घान्तिक आधारमा एउटा बलियो अन्तर्राष्ट्रिय महिला आन्दोलन अवश्य नै खडा गर्नुपर्दछ । स्पष्ट छ कि मार्क्सवादी सिद्घान्तबिना राम्रो व्यावहारिक काम हुन सक्दैन । यस विषयमा पनि हामी कम्युनिस्टहरूलाई बढीभन्दा बढी सैद्धान्तिक स्पष्टताको आवश्यकता छ । हामीले अरू सबै पार्टीहरूबाट आफूलाई पूर्णतया अलग गर्नुपर्छ । दुःखद् कुरा यो छ कि हाम्रो दोस्रो अन्तर्राष्ट्रिय काँग्रेसले महिलाहरूको प्रश्नमाथि गम्भीरता देखाउन सकेन । मामिला आयोगमै अड्कियो । आयोगले एउटा प्रस्ताव, थेसिस र एउटा ठोस लाइन तयार गर्नु छ । तर, अझसम्म त्यसको काम धेरै अगाडि बढेको छैन ।”

खेम थपलिया

 

महिलाहरू के चाहन्छन् भन्ने विषयमा विभिन्न बहस भइरहेका छन् । जिब्रो नचपाई भन्ने हो भने खासमा महिलाहरू स्वतन्त्रता र कम्युनिजम चाहन्छन् । सर्वहारा महिलाहरू सानदार वर्गयोद्धा हुन् । महिला आन्दोलनमा सामाजिक संवेदना धेरै महत्त्वपूर्ण कुरा हो तर यसलाई पुँजीपतिवर्गले खिल्ली उडाइरहेको छ । हरेक समस्याले समाधानको माग गरिरहेको हुन्छ । क्रान्तिले पुराना सामाजिक सम्बन्ध भत्काउँदै जानेछ : स्त्री र पुरुषबिच नयाँ वैचारिक सम्बन्ध बन्दै जानेछन् । हामीले आलोचनात्मक विश्वदृष्टि अपनाएर पुँजीवादी समाजको अनैतिकता र झुटको भत्र्सना गर्नुपर्दछ । समाजका विचारधारात्मक ढाँचाका कुनै पनि महत्त्वपूर्ण अङ्ग तथा कुनै प्रमुख सामाजिक परिघटनाको मार्क्सवादी विश्लेषण पुँजीवादी व्यवस्था तथा त्यसका निजी सम्पत्तिको विश्लेषणमा पुग्न आवश्यक छ । महिलाको प्रश्नमा बहुआयामिक ज्ञानका साथ समग्र विषयमा स्पष्ट माक्र्सवादी समझदारीको आवश्यकता छ । हामीले मिहिनेतकस महिलाको चिन्तनलाई ख्याल गर्दै तमाम मिहिनेतकस महिलाहरूको ध्यान कम्युनिस्ट–सर्वहारा क्रान्तितिर लगाउनु आवश्यक छ । आजको कम्युनिस्ट सर्वहाराक्रान्ति भनेको एकीकृत जनक्रान्ति हो । महिलाहरूका विविधतापूर्ण सम्बन्ध, मिहिनेतकस महिलाहरूको जीवनमा त्यसको प्रभाव, बेरोजगारी, नगन्य वेतन, कर, सामाजिक एवम् सांस्कृतिक प्रतिष्ठाजस्ता गम्भीर प्रश्न छन् । खासमा कम्युनिस्ट सर्वहारा महिलाका राजनीतिक एवम् सामाजिक शिक्षण झुटमा आधारित छन् । हामीले ती झुटका पुलिन्दालाई च्यातचुत बनाइदिनुपर्दछ ।

 

इतिहासमा भएका दासताविरोधी, सामन्तवादविरोधी, साम्राज्यवाद र उपनिवेशवादविरोधी आन्दोलनलगायत सबैखाले न्यायपूर्ण र देशभक्तिपूर्ण आन्दोलनहरूमा क्रान्तिकारी महिलाहरूको योगदान उल्लेखनीय छ । वर्गसङ्घर्षका तमाम शृङ्खलासँग आफ्नो जीवनलाई जोडेका, क्रान्तिमा होमिएर आफूलाई इस्पात बनाएका क्रान्तिकारी महिलाहरूको नाम गौरवमय इतिहास बनेका छन् । निश्चय पनि यथास्थितिवादविरुद्ध उभिनु आफैँमा साहसिक कार्य हो । त्यसमाथि पनि सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक शोषणका विरुद्ध क्रान्तिको विगुल फुक्नु महान् कार्य हो । क्रान्तिकारी विचारद्वारा सिँचित महिलाहरूको झन् गौरवशाली इतिहास छ । हामीलाई नेतृत्वले सिकाउँदै आउनुभएको छ कि क्रान्तिकारी महिलाहरू साँचो अर्थमा कामदार महिलाहरूका मुक्तिदाता र आदर्श हुन् । आज पनि वर्गीय दृष्टिकोणलाई आत्मसात् गर्दै अघि बढेका महिलाहरूको साहसिक जीवनगाथालाई दलाल पुँजीवादी सत्ताले निरन्तर उपेक्षित गर्दै आएको छ । तरबारको धार र काँडैकाँडामा हिँड्ने महिलालाई सङ्केत गर्दै रोजाले भन्नुभएको थियो, “पुँजीवादी सरकारको मसानको खरानीमा मात्रै मजदुरवर्ग एक सरकारको रूपमा उभिन सक्छ या समाजवादको निर्माण हुन सक्दछ ।” क्रान्तिकारी नेतृ सुङचिङ लिङले भन्नुभएको थियो, “क्रान्तिकारीहरू बगरेको चुप्पीबाट डराउँदैनन् ।”

पितृप्रधान सत्ताको ‘म्याउँ’ को मुख्य अखडामा धावाका साथ हामीले पितृसत्तारूपी दुम्सीलाई ठेगान लगाउनुपर्दछ । आज भूमण्डलीकृत साम्राज्यवाद पित्तृसत्ताको घोडा चढेर विश्व सयर गर्दै विभिन्न नारा दिइरहेछ– ‘म समानता पुस्ता : महिला अधिकार स्थापनाका लागि अग्रसर’, ‘महिलाको आँखाबाट हेरौँ’, ‘समानता घरबाटै सुरु गरौँ’, ‘महिलाको जित, सबैको जित’, ‘हामी सक्छौँ’ आदि इत्यादि । यिनै नाराका भुलभुलैयामा पारेर उसले महिलालाई पुँजीवादी साम्राज्यवादी विशाल माल बजारको प्रवद्र्धनका निम्ति उपभोक्तामा अति लोभ, कृत्रिम आकर्षण उत्पन्न गराउने प्रपञ्च रचिरहेछ । यद्यपि, साम्राज्यवादीहरूको यो कुटिलता अस्थायी हुन् । सामन्तवादी युगभित्र सयौँ पुस्ताले महिला स्वतन्त्रताको नारा गु्ञ्जाउन नपाए पनि अन्ततः र क्रमशः नयाँ पुस्ताले धेरथोर आधारभूत स्वतन्त्रताको स्वर उराल्दै आएका छन् । आज पनि संसारभर महिलामाथि भएको अत्याचारका विरुद्ध आवाज गुञ्जँदैछ । यद्यपि यो सत्तासित जोडिएको वर्गीय सवाल हो । मार्क्सवादले मानव इतिहासको भौतिकवादी अध्ययनमार्फत महिला उत्पीडनको मुख्य उत्पत्तिको कारण निजी सम्पत्तिको उत्पत्ति र त्यसमाथि पुरुषको बर्चस्व भएको तथ्य अघि सारेको छ । करिब आठहजार वर्षदेखि महिलामाथिको शोषण, उत्पीडन जारी छ । हामी निजी सम्पत्ति नै महिलाको बराबरी भविष्यका लागि मुख्य बाधक हो भन्ने कुरामा कुनै दुविधामा पर्नुहुन्न ।

भनिन्छ, विषको बोटको जराभन्दा त्यसका विषफूल अत्यन्त घातक हुन्छन् । विष बोटको जरा नष्ट नगरी विष फुल्नेक्रम रोकिनेछैन । महिला उत्पीडन अन्त्य गर्ने कुरा पनि त्यही हो । हाम्रो सामाजिक सौन्दर्यदृष्टि नै भ्रमयुक्त रहेको छ । नयाँ वैज्ञानिक समाजवादी विश्वव्यवस्थाका लागि समाजवादी यथार्थवादी सौन्दर्यदृष्टि हुन आवश्यक छ । सन् १८४८ मा ‘द सेनेका फल कन्भेन्सन’ पछि विश्वमा महिला हक–अधिकारसम्बन्धी धेरै कुरा भएका छन् । मार्क्स–एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्दै भन्नुभएको थियो, “बुर्जुवाहरू आफ्ना श्रीमतीलाई उत्पादनको साधन ठान्छन्, जो पुरुषको इच्छाअनुसार चल्नुपर्छ । उत्पादनको साधनमाथिको अधिकतम शोषण र प्रयोगबाट नै नाफा कमाउन सकिन्छ भन्ने सोच राख्ने बुर्जुवाहरू महिलामाथिको शोषणलाई आफ्नो अधिकार मान्दछन् ।” खासमा सङ्गठित भएर मात्र विश्व बदल्न सकिन्छ । माक्र्सले थप भन्नुभएको थियो, “जुन कारखाना, कम्पनी, कार्यालय र बस्तीहरूमा ठूलो सङ्ख्यामा महिलाहरू कार्यरत छन्, त्यस्ता ठाउँमा महिलाहरू मात्र रहेको साङ्गठनिक संयन्त्र बनाई उनीहरूलाई सङ्गठित गर्नुपर्दछ ।
साथमा, सङ्गठनको मूल संरचनामा पनि उनीहरूका लागि उचित स्थानको सुनिश्चितता गरिनुपर्दछ ।” नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्दै गर्दा पुष्पलालले उल्लेख गर्नुभएको ‘राष्ट्रिय जीवनमा सबैको बराबरी हक’ को कुरा पनि यहाँ विशेष स्मरणीय छ ।

आदिबासी महिलाले पाँच शताब्दी लामो औपनिवेशिकताका विरुद्ध लडेर प्राप्त गरेको उपलब्धिलाई बोलिभियन सरकारले संस्थागत गरिहँदा नेपाली महिलाहरूको वीरता, शौर्य र बलिदानलाई सत्ताधारीले निषेध गर्दैछ । आमूल परिवर्तनकारी आन्दोलनमा नेपाली महिलाको सक्रिय, रचनात्मक, बलिदानीपूर्ण भूमिका रहँदै आएको छ । ब्रिटिस औपनिवेशिक सेनासँग भएको नालापानी किल्लाको युद्धमा महिला तथा बालबालिका पनि ब्रिटिस सेनाको बारुद र बमविरुद्ध ढुङ्गामुडा लिएर युद्धमा होमिएका थिए । टर्कीकी हेले बोलेक र इब्रु तिम्तिक, बर्दियाकी कोइली देवी, छिन्ताङकी हाङ्सिमा साइँली, जनयुद्धकी दिलमाया योञ्जनलगायत बलिदानको निकै लामो सूची छ । नेपाली जनयुद्धमा क्रान्तिकारी महिलाहरूले बलिदानको विशाल पीरामिड खडा गरेका छन् । संसार बदल्नुअघि आफैँ बदलिनुपर्छ । एकोहोरो उपदेशात्मक प्रलापले परिवर्तन असम्भव छ । क्रान्तिकारी महिलाको विचार निर्माण पनि आज महत्त्वपूर्ण कार्यसूची बनेको छ । आज महिलाहरूलाई आह्वान गर्दै विश्वभर ‘सडकमा निस्कने र नारा लगाउने कुरामा बानी पार्नुस्’ भन्ने जागरण फैलाउन थालिएको छ । सामाजिक उत्पादनमा भाग लिन थालेपछि महिलाहरूमा सामाजिक अधिकारको चेतना जाग्न थालेको हो । जुन वर्ग आर्थिक दृष्टिले पराधीन हुन्छ, ऊ राजनीतिक र सामाजिकरूपबाट पनि पराधीन रहन्छ । सम्पूर्ण शोषित उत्पीडितको मुक्ति आन्दोलनको सिलसिलामा नै महिला मुक्ति आन्दोलन अगाडि बढाएर शोषित उत्पीडित जनताको मुक्तिसँगै महिला मुक्ति पनि सम्भव हुनेछ ।

फ्रान्सेली काल्पनिक समाजवादी चाल्र्स फुरियेले सन् १८०८ मा समाजमा समानताका लागि महिला स्वतन्त्रतालाई कसीको रूपमा प्रयोग गर्दै भन्नुभएको थियो, ‘समाजमा स्वतन्त्रताको नापो महिला कति हदसम्म स्वतन्त्र छन् भन्ने हो । हजारौँ वर्षको मानसिक दासताविरुद्ध नलडीकन, पुरुष स्वामित्ववादी प्रवृत्तिविरुद्ध सङ्घर्ष नगरीकन महिला मुक्ति आन्दोलनले गति लिन सक्तैन ।’ टालटुल र लिपपोतबाट समानतामूलक आन्दोलनको आँधी असम्भव छ । सत्ताका किसिम किसिमका फासिस्ट प्रवृत्तिका विरुद्ध जुझारु लडाइँ लड्नुपर्दछ । विभिन्न धार्मिक र संस्कारले बाँधेको डोरी चुँडाउन आवश्यक छ । लैङ्गिक असमानता हुनुपछाडि धर्म, संस्कृति र परम्परा कारक बनेका छन् । उदाहरणार्थ, अतरिया ऋषिको छोरीबारेको अभिव्यक्ति हेरौँ, “पत्नी मित्र हो, छोरी दुःख हो, छोरा स्वर्ग जाने उच्च प्रकाश हो ।” क्रिस्चियनहरू भन्छन्, “संसारमा पुरुष एक्लो भएपछि उसकै करङको हाड झिकी त्यसैबाट स्त्री जातिको उत्पत्ति ईश्वरले गरेका थिए ।” सिख नानकको मत छ, “महिलाबाट पुरुषको जन्म हुन्छ, पुरुषको विवाह महिलासँग हुन्छ र मित्रता पनि हुन्छ । किन फेरि पुरुष महिलाको बदनामी गर्दछन् ? जब कि एउटी महिलाको गर्भबाट राजा–महाराजाको जन्म हुन्छ । महिलाबाट महिला पनि जन्मन्छन्, कसैको पनि अस्तित्व महिलाको अभावमा हुन सक्दैन ।” यसबाट स्पष्ट हुन्छ कि धार्मिक हामीले अन्धविश्वासको जालोलाई तोड्दै समतामूलक समाजको सिर्जना गर्नुपर्दछ ।

अमेरिकी महिलामाथिको उत्पीडनविरुद्धको चर्चित आन्दोलनकर्मी सोजुर्नर टुथले सन् १८५१ मा अरकोन अहियोमा आयोजित महिला अधिवेशनमा भन्नुभएको थियो, “महिलाहरू आफ्ना सम्पूर्ण अधिकारहरू मानव अधिकारको रूपमा मागिरहेका छन् । उनीहरू महिला एउटा समूहको रूपमा र पुरुष अर्को समूहको रूपबिच विद्यमान समाजले गरेको असमान व्यवहारलाई चुनौती दिइरहेका छन् । महिलालाई दासीको रूपमा दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्ने सबै प्रकारका कानुन एवम् शक्ति संरचनाविरुद्ध विद्रोह गरिरहेका छन् । सबै महिलाहरू मिलेर यो विश्वलाई सुल्टाउन सकिन्छ १” महिला आन्दोलनका क्रममा धेरै विचारक आन्दोलनकारी जन्मिए र महिला अधिकारबारे बहस छेडिएका छन् । महिला–पुरुष समानताको मामिलाबारे टिप्पणी सुनिन्छ, ‘द अनह्यापी म्यारिज अफ माक्र्सिजम एन्ड फेमिनिजम ।’ केहीले त लैङ्गिक मामिलामा ‘मार्क्सवाद अन्धो छ अर्थात् माक्र्सिजम इज जेन्डर ब्लाइन्ड’ समेत भनेका छन् । यी टिप्पणी महिला समानताको कुरा गर्दै महिला असमानतालाई बढवा दिने नियतका साथ आएका हुन् । फेमिनिजिम र माक्र्सिजम नितान्त फरक कुरा हुन् । हामीले मार्क्सवादविरुद्धका सबै दुष्प्रचारका विरुद्ध लड्नुपर्दछ, तिनका गलत प्रवृत्तिका विरुद्ध कठोर र निर्मम सङ्घर्ष गर्नुपर्दछ ।

उपसंहार
मार्क्सले महिलालाई पुरुषसरह नै ठान्नुभएको छ, उहाँले ‘महिलालाई पुरुषको मातहत’ ठान्नुभएको छैन । उहाँले ‘परिवारको उन्मूलन’ को घोषणा गर्दै लोग्ने मालिकजस्ता स्वास्नी दासीजस्ती र लोग्ने बुर्जुवाजस्ता र स्वास्नी सर्वहाराजस्ती रहेको निष्कर्ष निकाल्नुभएको थियो । मार्क्सले घोषणा गर्नुभएको थियो, “महान् परिवर्तनहरू महिलाहरूको संलग्नताबिना असम्भव छ ।” एङ्गेल्सले ‘परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति’ नामक ग्रन्थ नै लेखी महिला पुरुष समानता तथा महिला उत्पीडनविरुद्ध ऐतिहासिक घोषणा गर्नुभएको थियो, “आधुनिक व्यक्तिगत परिवारको विकाससँगै घरभित्रको व्यवस्थाले सामाजिक चरित्र गुमायो । यो निजी सेवा हुन गयो र श्रीमती पहिलो घरेलु नोकर भइन् र सामाजिक उत्पादनको कामबाट गलहत्याइन् ।” उहाँले ७ हजार वर्षदेखिको समाजको विकासक्रमको व्याख्या गर्नुभयो र कसरी प्राचीनकालमा युद्धरत पक्षले महिलालाई वस्तुसरह दुरुपयोग गरे भन्ने चर्चा गर्नुभयो, “मूल्यवान वस्तु, जमिन र सन्धिसँग महिला साट्ने, बिक्री गर्ने वा दुईतिरको महिला साटासाट गरियो । युद्ध सरदारबिचको गठबन्धन बलियो पार्न बिहेलाई माध्यम बनाइयो । शासकवर्गको लोग्नेले आफ्नी श्रीमतीलाई अरू दासीसरह पाल्यो र जीवनपर्यन्त उनको शरीरमाथि कब्जा जमायो ।”

लन्डनमा आइतबारका दिन भेला भएर कार्यक्रम गर्न निषेध थियो । मार्क्सपुत्री एलियानोरले सन्डे इभिनिङको आयोजना र प्रचार गर्नुभयो । उहाँकै प्रचारका आधारमा दुईहजारजति मान्छे जम्मा भए । तिनै दुईहजार मान्छेका बिचमा चौध वर्षिया एलियानोरले साङ्गीतिक प्रस्तुति दिनुभयो । सोही आइतबारे कार्यक्रमबारे मार्क्सले टिप्पणी गर्नुभयो, “सबै कुरा निषेधित थियो, चौध वर्षकी छोरीले कार्यक्रम गरी, एउटा मान्छे पनि पक्राउ परेन । यसबाट सिक्न कुरा के ? इफ यु वान्ट टु डु समथिङ इलिगल, डु विथ टु थाउजेन्ड पिपल अर्थात् कुनै अवैधानिक काम गर्नु छ भने दुईहजार मान्छे बटुलेर त्यस्तो काम गर ।” यसर्थ, हाम्रा काम–कारबाही उद्देश्यमूलक र गन्तव्यमूलक हुनैपर्दछ । हाम्रा काम–कारबाहीहरू देखाउनका लागि होइन, बदल्नका लागि हुनुपर्दछ । रुखका पातहरू त फेरिँदै जान्छन् भने मरणासन्न पुँजीवादी व्यवस्था र तिनका तमाम रुढी नफेरिने कुरै छैन । समाज विकासको ऐतिहासिक प्रक्रियाले पनि हामीलाई यही कुरा सिकाएको छ । हामीसँग त्यसका लागि दृढ सङ्कल्पको आवश्यकता छ । क्रान्तिकारी आचरणबिना वैज्ञानिक समाजवादको कल्पना गर्न सकिन्न । यसर्थ, सबैले आ–आफ्नो समाजवादी आचरण निर्माण गरौँ । वैज्ञानिक समाजवादी राज्यप्रणालीका साथ महिलाहरूको समान अधिकार र बराबरी भविष्य सुनिश्चित गरौँ । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को सन्दर्भमा सम्पूर्ण श्रमजीवी तथा उत्पीडित महिलाजनमा हार्दिक शुभकामना !

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*