सिद्धार्थ बैंकको ४ अर्बको ऋणपत्र आजदेखि निष्काशन

१० असार २०७९, शुक्रबार १०:४०

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज (असार १० गते) देखि ‘एसबिएल डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधि रहेको ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*