व्यापार घाटा र आयात घट्यो, मुलुकको अर्थतन्त्रमा देखिन थाल्यो सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको ब्यापार घाटामा बृद्धिद्धर घटेको छ ।
देशको ब्यापार घाटा बृद्धिदरमा कमी आएसँगै यता आयात समेत घट्न पुगेको छ । यसको प्रभावले सिँगो राष्ट्रको अर्थतन्त्रमा सुधार देखिन थालेको छ । राष्ट्र बैंकले सरकारको निर्देशनअनुसार विदेशी विनिमय सञ्चिति बढाउनकै लागि विलासी वस्तुहरुको आयातमा कडाइ गरेसँगै यसको प्रभाव मुलुकको अर्थतन्त्रमा देखिन थालेको हो ।
राष्ट्र बैंकद्धारा सार्वजनिक तथ्याङ्कअनुसार चालु आवको भदौ मसान्तसम्ममा कुल वस्तु व्यापारघाटा ९.४ प्रतिशतले घटेर २ खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँमा कायम हुन पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्ममा यस्तो व्यापारघाटा ७०.८ प्रतिशतले बढ्न पुगेको थियो ।
त्यस्तै, एक वर्षको अन्तरालमा चुलिँदै गएको देशको व्यापारघाटा केही हदसम्म घट्न पुगेको छ । व्यापारघाटासँगै यता आयात समेत कम हुन पुगेको छ । अर्थमन्त्रालयले केही समयअघिदेखि उत्पादनमा जोड तथा आयात प्रतिस्थापन गर्ने अभियान चालेसँगै राष्ट्र बैंकको डाटाअनुसार व्यापारघाटा र आयात घट्न पुगेको हो ।
चालु आवको भदौ महिनासम्ममा कुल वस्तु आयात १३.० प्रतिशतले कमी आई २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिसम्म यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो । एक वर्षको अन्तरालमा कुल वस्तु आयात प्रतिशत ह्वात्तै घटेको हो । यसले देशको अर्थतन्त्रमा सुधार देखिन थालेको देखिएको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत, २०.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाबिन, तेल, हट रोल्स सिट इन क्वाइल, एम.एस. विलेट लगायतका वस्तुको आयात घटेको छ ।
भदौ मसान्तसम्म भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २६ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनासम्ममा कुल वस्तु निर्यात ३४.९ प्रतिशत कमी आई २८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रीतशतले बृद्धि भएको थियो । गन्तब्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले बृद्धि भएको छ ।
योसँगै मुलुकको अर्थतन्त्रमा सुधार गर्ने विभिन्न सूचाङ्कमा समेत सुधार देखिन थालेको छ । ब्यापार घाटा, आयातसँगै रेमिट्यान्स समेत बढ्न थालेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
विप्रेषण आप्रवाह १९ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.८ प्रतिशतले बृद्धि भई एक खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । मुलुकको ब्यापार घाटाको बृद्धिदर कम भएसँगै यता रेमिट्यान्स पनि बढ्न पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिसम्म रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो । साथै चालु आवको भदौ महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १६९.९ प्रतिशतले बृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ ।
कुल विदेशी विनियम सञ्चिति
राष्ट्र बैंकका अनुसार दुई महिनाको अन्तरालमा विदेशी मुद्राको संचिति सामान्य घट्न पुगेको छ । २०७९ असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय संचिति २.२ प्रतिशतले कमी आई भदौ मसान्तसम्म ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ ।
कुल विदेशी मुद्रा संचितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको संचिति दुई महिनामा ०.५ प्रतिशतले कमी आई १० खर्ब ५१ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा संचिति १३.७ प्रतिशतले कमी आई १३ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँमा कायम भएको छ । विदेशी मुद्रा संचितीमा केही कमी आएपनि तथ्याङ्कअनुसार मुलुकलाई सात महिनासम्म धान्ने विदेशी मुद्रा संचिति रहेको छ ।
चालु खाता र शोधानान्तर स्थितिको घाटामा कमी
नेपाल राष्ट्र बैंकका अनुसार चालु खाताको घाटामा कमी आएको छ । चालु आवको दुई महिनासम्म चालु खाता ३७ खर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको थियो ।
त्यस्तै, यता गत वर्षको भदौ महिनासम्म ९४ खर्ब ८० करोड रुपैयाँ घाटामा रहेको शोधानान्तर स्थिति यस अवधिसम्म २३ खर्ब ६८ करोड घाटामा कायम हुन पुगेको छ ।