बीमा प्राधिकरणद्धारा बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या, अनधिकृत रुपमा सञ्चालकलाई राजिनामा गर्न पत्राचार

२७ चैत्र २०७९, सोमबार १४:४८

काठमाडौं । बीमा क्षेत्रका नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या गर्दै अनाधिकृत रुपमा सञ्चालकहरुलाई राजिनामा गर्न पत्राचार गरेको खुलेको छ । नेपाल बीमा प्राधिकरणबाट सम्पादन हुने कार्यहरुको चौतर्फी प्रश्न चिन्ह उठिरहेको बेला प्राधिकरणले बीमा ऐनको गलत व्याख्या गरेको तथ्य उजागर भएको हो । 


नेपाल बीमा प्राधिकरणले यही चैत्रको दोस्रो साता सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै बीमा ऐन २०७९ को दफा (ट) बमोजिम नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरु अर्को कुनै पनि बीमक कम्पनीमा सञ्चालक हुन नपाउने भन्दै १५ दिनभित्र राजिनामा गर्न पत्राचार गरेको थियो । प्राधिकरणका उच्च अधिकारीहरु बीमा ऐनको दफा ५० अनुसार सिईओ तथा कर्मचारीहरु अर्को जुनसुकै बीमक कम्पनीमा सञ्चालक हुन नपाउने भएकोले सबै बीमा कम्पनीहरुलाई पत्राचार गरेको स्वीकार गरेको छ । 


बीमा कम्पनीका सिईओहरुले पनि प्राधिकरणबाट सोही आशयको पत्र प्राप्त भएको र अब छिट्टै राजिनामा गर्ने तयारीमा रहेको जानकारी बीमापोष्टलाई गराएका छन् । 


तर, बीमा प्राधिकरणको उक्त निर्देशन बीमा ऐन २०७९ को दफा ५० (ट) को गलत व्याख्या गरिएको छ । बीमा ऐनको ५० मा भनिएको छ, देहायका कुनै व्यक्ति सञ्चालकको पदमा निर्वाचित वा मनोनित हुन अयोग्य हुनेछः– । सो दफा अन्तर्गतको उप दफा (ट) मा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेको वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक वा बैंक वा वित्तीय संस्थाको बहालवाला कर्मचारी, । तर, नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमकले शेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोनित गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’

 

 


उक्त दफालाई टेकेर बीमा प्राधिकरणले बीमक कम्पनीहरुलाई ठाडो आदेश दिँदै तत्काल सबै पद खाली गर्न आदेश जारी गरेको छ । बीमा प्राधिकरणको उक्त व्याख्या सही नभएको नेपाल सरकार महान्यायाधिवक्ता कार्यालय, कानुन व्यवसायी र बीमक कम्पनीमै कार्यरत कानुन अधिकृतहरूले औँल्याएका छन् । 


नेपाल सरकारलाई कानुनी परामर्श दिने महान्याधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले पनि बीमा ऐनको दफा ५० को उपदफा (ट) बमोजिम कुनै पनि बीमक कम्पनीका कर्मचारी वा सिईओ अर्को तर फरक प्रकृतिको बीमक कम्पनीमा सञ्चालक बन्न पाउने स्पष्ट रुपमा लेखिएको बताए । नायब महान्याधिवक्ता पाण्डेयले बीमा ऐनको दफा ५० पढेपछि भने, ‘यहाँ उल्लेख भए अनुसार बीमक कम्पनीका कर्मचारी फरक प्रकृतिको बीमकमा कम्पनीले शेयर खरिद गरेको अवस्थामा सञ्चालक बन्न पाउने अर्थ मैले बुझेँ ।’


अधिवक्ता स्वागत नेपालले बीमा प्राधिकरणका कर्मचारीहरुको दृष्टीभ्रम भएको हुनसक्ने प्रतिक्रिया दिए । उनले भने, उपदफा ‘ट’ कै अघिल्लो खण्डले ‘वा’ को प्रयोग स्पष्ट पारेको बताउँदै एउटा वाक्यको दोस्रो वा स्वतन्त्र नमान्ने भएमा पहिलो खण्डको दोस्रो ‘वा’ पछाडिका बीमक, बैंक र वित्तीय संस्था नेपाल सरकारको मात्रै भन्ने अर्थ लगाउने टिप्पणी गरे । उनले भने बीमा ऐनको उपदफा (ट) कै पहिलो खण्डमा वा पछाडिका बीमक, बैंकहरु भएमा दोस्रो खण्डमा पनि वा पछाडिको बीमक शब्द सबै हुने कुरा जानाजान गलत मनसाय राखेर ऐन लागू गर्न खोजेको आरोप लगाए ।


बीमा ऐनको दफा ५० (ट) बमोजिम ‘वा’ पछाडिको ‘बीमक’ शब्द स्वतन्त्र हो वा वा अगाडि रहेको संस्थासँग मात्रै सम्बन्ध राख्ने धारणा भाषाविज्ञहरुको धारणा नायव महान्यायाधिवक्ता पाण्डेयको जस्तै छ । साहित्यकार खेम थपलियाका अनुसार ‘वा’ पछाडिको बीमक भन्ने शब्द स्वतन्त्र हुन्छ । ‘वा’ अगाडिको ‘संस्था’ आफैमा स्वतन्त्र नभएर ‘नेपाल सरकारको स्वामित्व प्राप्त संस्था’ भएको बताउँदै थपलियाले ‘वा’ भन्ने शब्दले कुनै पनि बीमकलाई जनाउने बताए । 


एक कम्पनीका कानुन अधिकृतले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘बीमा ऐनको दफा ५० को उपदफा (ट) को गलत व्याख्या भयो, नियामकीय अधिकारको दुरुपयोग भयो हामीले बोलेमा उल्टै कावारवाही गरिन्छ ।’
बीमा प्राधिकरणको निर्देशनबारे एक निर्जीवन बीमा कम्पनीको सिइओसँग सम्पर्क गर्दा उनले नियामक निकायसँग पंगा लिन नखोजेको र राजिनामा गर्ने तयारीमा रहेको बताए । बीमा प्राधिकरणको गलत व्याख्यासँगै नेपालमा सञ्चालित करिब एक दर्जन बीमा कम्पनीका सञ्चालकहरु यही चैत्र महिनाभित्रैमा पदमुक्त हुनेछन् । 

 

 

 

2 thoughts on “बीमा प्राधिकरणद्धारा बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या, अनधिकृत रुपमा सञ्चालकलाई राजिनामा गर्न पत्राचार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*