सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि आइपीओ बिक्री खुल्ला, प्रतिकित्ता मूल्य कति ?

२९ असार २०८०, शुक्रबार १४:४३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आइपिओ निष्कासन गर्न लागेको हो। इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो।

सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि र बाँकी रहेको १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले बताएको छ।कुल निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गर्न लागेको हो।

यस्तै निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीको भनाइ छ। उक्त आइपिओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले ’इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*