राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आन्दोलित, सिईओको दैनिक काममा बाधा

रिना खत्री
११ श्रावण २०८०, बिहीबार ११:५१

काठमाडौं । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । सरकार समर्थित कर्मचारी संगठनको आह्वानमा कम्पनीका कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् ।२०७९ असोज ४ गते माग पत्र पेश गरेकोमा माग पुरा नभएपछि कर्मचारी संगठन पुनःआन्दोलनमा उत्रिएका छन्। आर्थिक बर्ष २०८० साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याउने सहमति भएपनि कार्यान्वयनमा व्यवस्थापनले चासो नराखेको भन्दै कर्मचारीले असन्तुष्टी जनाउदै आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

कम्पनीका सिईओ शेखर बरालले आफूलाई काम गर्न सहज वातावरण नभएको भन्दै नियमित काममा समेत जान नपाएको गुनासो गरेका छन् । यता कर्मचारी यूनियनले प्रमुख कार्यकारीलाई कार्यकक्षमा प्रवेश गर्न नदिने कुनै कार्यक्रम नरहेको बताएको छ। नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको इकाईले संयुक्तरूपमा असार ३१ गतेदेखि चरणबद्ध आन्दोलन शुरु गरेको हो ।

२०७५ मा कार्यन्वयनमा आएको कर्मचारी विनियमावलीमा भएका व्यवस्थाहरु कार्यान्वयन गर्न व्यवस्थापन तथा संचालक समितिको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले पटक पटक प्रतिवद्धता जाहेर गरेको र २०८० श्रावण १ गतेदेखि पुर्ण कार्यन्वयनमा ल्याउने कुरा प्रतिवद्धता गरेको कुरा संघले कम्पनीलाई स्मरण गराएको छ।

आफ्नो प्रतिवद्धतामा अडिन नसक्ने, आफ्नो अधिकार बुझ्न नसक्ने, कर्तव्यबाट च्युत भएको नेतृत्वको छत्रछायाँमा रही संस्थागत उन्नती प्रगतीको लागि कार्य गर्न कठिन हुने र यस्तो अवस्थामा बाध्य भएर सो असल कार्यबातावरण सिर्जना गर्न कर्मचारी संघले माग गरेको छ।

कर्मचारी ट्रेड युनियनका प्रतिनिधि सहित अर्थमन्त्रालयको प्रतिनिधि संयोजक रहि गठन भएको समितिको प्रतिवेदन कार्यन्वयन गर्न के कती कारणले व्यवस्थापन असक्षम रह्यो ? संचालक समितिको अध्यक्ष संयोजक रहेको, अन्य संचालक आमन्त्रित रहेको मानव संसाधन समितिको सिफारिस कार्यान्वयन के कती कारणले हुन सकेन ? हामीहरु यी तमाम प्रश्नहरुको स्पष्ट कार्यन्वयन तथा उत्तर चाहन्छौ भन्दै युनियनका कर्मचारीहरुले प्रश्न गरेका छन् ।

कर्मचारीहरुलाई पटक पटक आश्वासन दिने तर ठोस नतिजा नदिने गैर पेशागत प्रवृत्ति र नेतृत्वलाई जिम्मेवार दोध गराउन तथा कम्पनीको विद्यमान नीति नियमहरुको पुर्ण कार्यन्वयन तथा परिपालन गराउन दवाव दिनु पर्ने वाध्यात्मक परिश्थिति सिर्जना कारण दोस्रो चरणको आन्दोलन पुन सुरु गरेको बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*