ब्रोकर कम्पनी सञ्चालकका परिवारलाई सेयर खरिद गर्न पूर्वस्वीकृति अनिवार्य, सेयर बजारमा चलखेल गर्ने प्रयास गरे ब्रोकरहरूको सदस्यता निलम्बन समेत हुने

११ भाद्र २०८०, सोमबार ०८:३१

ब्रोकर कम्पनीका सञ्चालकले आफ्नो र परिवारको नाममा सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र व्यवसायी धितोपत्र दलाल, धितोपत्र व्यापारी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघिको विनियमावली, २०५५ मा संशोधन गरी केही नियम र उपनियमहरू थप गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेले बनाएको ‘धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८०’ धितोपत्र बोर्डबाट भने स्वीकृत हुन बाँकी रहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति अर्यालले बताए । उनले भने, ‘अहिले यो कानुन शाखामा अध्ययन भइरहेको छ, आवश्यक पक्रिया पूरा गरेर स्वीकृत गर्छौँ ।’

नयाँ व्यवस्था अनुसार एक वर्षमा दुईपटकभन्दा बढी लिखित चेतावनी पाएमा, ऐन–कानुनअनुसार नेप्सेलाई दिनुपर्ने सूचना तथा जानकारी नदिएमा, सेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास गरेमा, नेप्सेले स्वीकृति दिएबाहेक अन्य प्रविधि प्रयोग गरेमा ब्रोकरलाई निलम्बन गर्न सकिने व्यवस्था छ ।

त्यस्तै, लगानीकर्तालाई हानि–नोक्सानी हुने, कारोबार प्रणालीमा क्षति पुग्ने वा बजारमा विकृति आउने खालका कैफियत गरेको भेटिएमा पनि नेप्सेले ब्रोकरहरूको सदस्यता निलम्बन गर्ने व्यवस्था नयाँ विनियमावलीमा छ । यसका साथै सदस्यले सफाइका लागि पेस गरेको जवाफ सन्तोषजनक नभएमा वा ऐन–नियम, विनियम, आचारसंहिताविपरीत काम गरेको देखिएमा १५ दिनका लागि सदस्यता निलम्बन गर्ने उल्लेख छ ।

संशोधित विनियमावलीअनुसार नयाँ विनियमावली लागू भएको तीन महिनाभित्र ब्रोकर कम्पनीहरूले सदस्यताका लागि पुनः आवेदन दिनुपर्नेछ । त्यस्तै, कानुनले बन्देज लगाएका लगानीकर्ताको नाममा धितोपत्र कारोबार गर्न नपाउने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*