दशैं तिहार अघिनै सर्टिफिकेशन कार्यक्रमको मोडालिटी तयार गर्दै धितोपत्र बोर्ड

२४ आश्विन २०८०, बुधबार १६:१४

काठमाडौं । दशैं तिहार लगत्तै नेपाल धितोपत्र बोर्डले सर्टिफिकेशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले पाइलटिङका रुपमा सुरु गर्न लागेको यस कार्यक्रमको सुरुवातमा मर्चेन्ट बैंकर तथा कर्मचारीहरुलाई तालिम दिने तयारी गरेको छ ।

बोर्डका अधिकारीहरुका अनुसार दशैं तिहारअघि एउटा मोडालिटी तयार हुने र दशैं तिहार लगत्तै सर्टिफिकेशन कार्यक्रम सञ्चालन गर्ने तयारी छ । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले ब्रोकर कम्पनी, मर्चेन्ट बैंकका सञ्चालक तथा कर्मचारीलाई सर्टिफेकेशनमा लैजाने कुरा बोर्डको नीतिगत कार्यक्रम तथा बजेटमा परेको विषय वस्तु भएको बताए ।

यद्यपि, त्यो पाइलटिङका रुपमा हुने भएका कारण अहिले नै यसै हुन्छ भन्न नसकिने उनको भनाइ छ । यसअघि यस्तो प्रकारको प्रशिक्षण वा सर्टिफिकेशनको कार्यक्रम लागू भएको थिएन । अब ब्रोकर तथा मर्चेन्ट बैंकर्सको कम्पनी सचिव वा सञ्चालकहरुले कक्षा लिनु पर्ने हुन्छ ।

ब्रोकर र मर्चेन्ट बैंकर्सको सर्टिफिकेशन सफल भएपछि सेयर बजारको तालिम दिने प्रशिक्षकहरुलाई पनि त्यस कार्यक्रममा समेट्ने सोंच बोर्डले बनाएको सूचना अधिकारी देवकोटाले बीमापोष्टलाई बताए ।

सेयर बजारबारेको वास्तविक ज्ञान भन्दा पनि सामाजिक सञ्जालमा पपुलर हुने र मिथ्या एवं आधारहिन बजार विश्लेषण गर्ने प्रवृत्ति बढ्दै गएपछि यो कार्यक्रम अघि सारेको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । उनले सार्वजनिक कार्यक्रम मै पनि कुरो चुहाइसकेका छन् ।

विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम मै उनले ब्रोकर कम्पनी र मर्चेन्ट बैंकर्सबाटल यो अभियानको सुरुवात हुने बताएका थिए ।
उनले स्वतन्त्र विज्ञहरुको योग्यता, रोस्टर अफ लोकल र एनुयल रिपोटिङ सिस्टम, एनुयल इनडिपेन्डेन्ड डिरेक्टर रिपोटिङ सिस्टम लागू गर्न लागेको सुनाए । सर्टिफिकेशन कार्यक्रम लागू गर्न पाठयक्रम विकास गर्नअघि बढिसकेको र त्यस सम्बन्धी निर्णय बोर्डबाट भइसकेको उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*