संसारभर पूँजी परिचालनको माध्यम हो शेयर बजार : ढकाल

२५ आश्विन २०८०, बिहीबार ११:२२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रका विज्ञहरुबाटै निजी क्षेत्रलाई हेप्ने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले निजी क्षेत्र भन्नेवित्तिकै घरजग्गा, शेयर र व्यापार मात्रै भन्ने गलत बुझाई रहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘अर्थशास्त्रीज्यूहरुले निजी क्षेत्र भन्नासाथ घरजग्गा, शेयर र व्यापारमा लगानी गरेका छन् भनेर लेख्ने बोल्ने गर्नु भएको छ । के यि क्षेत्र अर्थतन्त्रलाई चाहिँदैनन ? संसारभर पूँजी परिचालनको माध्यम शेयर बजार हो । र, अन्यत्र भएको लगानी पनि हामीले हेर्नु पर्ने हुन्छ ।’

लगानीको अवसर नभएपछि कर्जाको केही रकम जग्गा र सेयरमा गएको हुनसक्ने बताउँदै उनले अन्यत्र भएको लगानी पनि बजारमा माग नहुँदा खुम्चिदै गएको बताए । बैंक वित्तीय संस्थाको कर्जा तिर्न समस्या भएर विस्तारै बैंकहरुको खराब कर्जा (एनपीए) बढदै उनको भनाइ छ ।

उनले अगाडि भने, ‘अहिले बिजुलीको उत्पादन बढेको छ । तर, बेच्न पाइएको छैन । उत्पादनमूलक उद्योग संचालन गर्न सकिएको छैन । त्यसै कारण व्यापारमा रुचि हुन्छ । तैपनि हामी काम गरिरहेका छौं ।’ चारैतिर समस्याले घेरिरहेका बेला डेडिकेटेड फिडर र टंकलाइनको विषय आयो र अध्ययन नगरी सबैले रकम बुझाउन सूचना जारी भयो, उनी भन्छन्, ‘हामी प्रधानमन्त्रीज्यु कहाँ गयौं। तत्काल लाइन नकाट्न निर्देशन दिएपछि केही राहत भएको छ । र, प्रधानमन्त्रीले निजी क्षेत्रका समस्या समाधान गर्न प्रयास गर्नुभएको छ । हामी आभारी छौं ।’

नेपाल उद्योग वाणिज्य महासंघ देशभरका उद्योगी व्यवसायीको संस्था हो, हामीले नेतृत्व सम्हालेको ६ महिना पुग्न लाग्यो । समस्या पहिल्यै बढिसकेको थियो, अध्यक्ष ढकालले अगाडि थपे, ‘अब विकास साझेदारहरुसँग पनि समदुरी आवश्यक छ । अर्थतन्त्र संचालनमा विदेशी निकायको सुझाव र सल्लाह सुधारका लागि लिने हो, अप्ठेरोका लागि होइन ।’

विदेशी दातृ निकायको सानो ऋणका कारण अर्थतन्त्र जोखिममा पर्ने अवस्था आएको ढकालले बताए । अर्थतन्त्रका सबै सूचक ठिकठाक छन् र मिल्छ भने त्यो ऋण तिरिदिए हुने उनको सुझाव छ ।

यस्तै, अध्यक्ष ढकालले संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति आपत्ति जनाए । उनले, ‘प्रधानमन्त्रीको निर्देशनमा रोकिएको यो विषय पुनः छलफलमा आएसँगै हामी झस्किएका छौं’ भने । राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको आरोप ढकालले लगाए ।

महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, मुख्य सचिव डा. बैकुण्ठ अर्याललगायत सहभागी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*